काठमाडौं – नेपाली कांग्रेसले सुनसरी लगाएतका स्थानमा भएका घटनाको निष्पक्ष अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।
मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै कांग्रेसका सचेतक निश्कल राईले सुनसरी घटनाको निष्पक्ष अनुसन्धान गरी घटनाको कारण, सुरक्षा कमजोरी, अफवाहको भूमिका र राज्यको प्रक्रिया सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।
सामाजिक सञ्जाल मार्फत घृणा र झुटा सूचना फैलाउने माथि कानुन अनुसार कारबाही गर्न माग गर्दै उनले कुनै धर्म वा समुदायलाई सामूहिक रूपमा शंकाको घेरामा नराख्न आग्रह समेत गरेका छन्। सरकारले गरेका सहमति, संवैधानिक आधार, कार्यान्वयन प्रक्रिया र समयसीमाबारे संसद तथा नागरिकलाई स्पष्ट जानकारी दिन उनले माग गरेका छन्।
साथै उनले संवेदनशील निर्णयहरू बन्द कोठामा नभई खुला राष्ट्रिय संवादबाट हुनुपर्ने उल्लेख गर्दै असहमति निषेध गरेर एकता कायम हुन नसक्ने धारणा राखेका छन् ।
सांसद राईले घृणा भन्दा संवाद, अफवाह भन्दा सत्य, प्रतिशोध भन्दा न्याय र विभाजन भन्दा राष्ट्रिय एकता रोज्नु नै संविधानको मर्म र नेपालीको भविष्यको आधार भएको बताएका छन्।



























































