काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादिले महिलाका लागि सञ्चालन गरिएको निःशुल्क ब्लु बस सेवा लैङ्गिक असमानतालाई प्रोत्साहन गर्ने सरकारी नीति नभएको स्पष्ट पारेकी छिन्।
बिहीबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले महिलाका लागि छुट्टै ब्लु बस सेवा सञ्चालनबारे उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री बादिले सरकारले महिला र पुरुषबीच स्थायी विभाजन सिर्जना गर्ने वा लैङ्गिक असमानतालाई बढावा दिने नीति नलिएको बताउनुभयो।
उनले सार्वजनिक यातायातमा महिलाले लामो समयदेखि भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, भीडभाड तथा आवागमनका व्यावहारिक कठिनाइलाई तत्काल सम्बोधन गर्न लक्षित उपायका रूपमा ब्लु बस सेवा अघि बढाइएको स्पष्ट पारेकी छ्न्।
मन्त्री बादिका अनुसार निःशुल्क ब्लु बस सेवा लैङ्गिक असमानतालाई बढावा दिने कदम नभई महिलामाथि विद्यमान जोखिम न्यूनीकरण गर्न आवश्यकतामा आधारित विशेष व्यवस्था हो। सरकारको दीर्घकालीन लक्ष्य भने महिला र पुरुष दुवैले एउटै सार्वजनिक यातायातमा सुरक्षित, सम्मानजनक र सहज रूपमा यात्रा गर्न सक्ने वातावरण निर्माण गर्नु रहेको उनले बताएकी छिन्।
मन्त्री बादिले ब्लु बस सेवा प्रचारमुखी वा लोकप्रियताका लागि ल्याइएको अल्पकालीन घोषणा नभई महिलाले हाल भोगिरहेका जोखिमलाई तत्काल सम्बोधन गर्दै समग्र सार्वजनिक यातायात प्रणालीलाई दीर्घकालीन रूपमा सुरक्षित, लैङ्गिकमैत्री, मर्यादित, पहुँचयोग्य र उत्तरदायी बनाउने संक्रमणकालीन प्रयास भएको पनि उल्लेख गरेकी छिन्।


























































