काठमाडौं- वर्षमान पुन ले सरकार पारदर्शिता र जवाफदेहिताको विषयमा कमजोर देखिएको टिप्पणी गरेका छन्। लोकतान्त्रिक शासन व्यवस्थामा सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने भए पनि वर्तमान सरकारले त्यसअनुसार काम गर्न नसकेको उनको आरोप छ।


ADVERTISEMENT


शुक्रबार सिंहदरबारस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले लोकतन्त्रको मूल आधार नै पारदर्शिता र जवाफदेहिता भएको उल्लेख गर्दै सरकारले यी दुवै पक्षलाई कमजोर बनाएको बताएका छन्।


ADVERTISEMENT

# # #


उनले हालै सुनसरी तथा मधेश प्रदेशमा भएका घटनाबारे सरकारले संसदलाई औपचारिक रूपमा जानकारी नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। यस्ता संवेदनशील घटनामा संसदलाई जानकारी गराउनु सरकारको दायित्व भए पनि त्यसबाट सरकार पन्छिन खोजेको उनको भनाइ छ।

पुनले गृहमन्त्रीको तराई–मधेश भ्रमणपछि भएका साम्प्रदायिक झडप तथा अशान्तिका घटनाबारे गृहमन्त्री स्वयंले संसदमा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने धारणा राखे। संसद सरकारलाई जवाफदेही बनाउने प्रमुख थलो भएकाले यस्ता विषयमा सरकार मौन बस्न नहुने उनको भनाइ छ।

उनले प्रत्येक महिनाको पहिलो सातामा हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम आगामी महिनाको कार्यसूचीमा समेत समावेश नगरिएकोप्रति आपत्ति जनाएका छन्। प्रधानमन्त्रीले नियमित रूपमा संसदमा उपस्थित भई सांसदका प्रश्नको उत्तर दिनुपर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने उनले बताएका छन्।

नेता पुनले सरकारले जनतालाई दिएका सेवा प्रवाह, सुशासन र सुधारका प्रतिबद्धता व्यवहारमा देखिन नसकेको आरोप लगाउँदै केवल आश्वासन दिनेभन्दा परिणाममुखी काम गर्न सरकार केन्द्रित हुनुपर्ने बताए। जनताले अनुभूति गर्ने गरी सेवा प्रवाहमा सुधार ल्याउन र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार सरकार सञ्चालन गर्न उनले आग्रह गरेका छन्।