काठमाडौं – आयाम इन्टरकन्टिनेन्टलले चीनको अग्रणी अटोमोबाइल निर्माता डोङफेङ मोटर कर्पोरेसनका बसहरू नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ। हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको कम्पनीले भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाईमा अटो एक्स्पोमा डोङफेङका दुई नयाँ बस मोडल प्रदर्शन गर्ने जानकारी दिएको हो।


ADVERTISEMENT


डोङफेङ चीनको सबैभन्दा ठूलो तथा प्रतिष्ठित अटोमोबाइल उत्पादक कम्पनीहरूमध्ये एक हो। सन् १९६९ मा स्थापना भएको यो कम्पनी चीन सरकारको स्वामित्वमा रहेको छ। कम्पनीले यात्रुवाहक तथा व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारीसाधन, विशेष प्रयोजनका सवारी तथा अटोमोबाइलका विभिन्न पार्टपुर्जा उत्पादन गर्दै आएको छ।


ADVERTISEMENT

# # #


पाँच दशकभन्दा लामो अनुभवका साथ डोङफेङले गुणस्तर, सुरक्षा, विश्वसनीयता र आधुनिक प्रविधिका आधारमा विश्व बजारमा आफ्नो छुट्टै पहिचान बनाएको छ। कम्पनीका सवारी साधन एसिया, युरोप, अफ्रिका, मध्यपूर्व र दक्षिण अमेरिका लगायत विश्वका १०० भन्दा बढी देशमा निर्यात हुँदै आएका छन्। नेपालमा पनि डोङफेङ ब्रान्डका ट्रक, कार तथा माइक्रोबसहरू पहिलेदेखि नै बिक्री हुँदै आएका छन्।

हिमालयन अर्गनाइजेशनले यसअघि भारतको फोर्स मोटर्स तथा चीनको म्याक्सस ब्रान्डका सवारी साधनहरूको नेपालका लागि आधिकारिक विक्रेताका रूपमा काम गर्दै आएको छ। कम्पनीका अनुसार नेपाल सरकारले ठूला विद्युतीय बसलाई प्राथमिकता दिने नीति अघि बढाएको तथा सार्वजनिक यातायातमा विद्युतीय बसको माग बढ्दै गएकाले डोङफेङका बस नेपाली बजारमा ल्याइएको हो।

अटो एक्स्पोमा ७.२ मिटर लम्बाइका २६ देखि ३० सिट क्षमताका बस सार्वजनिक गरिनेछन्। कम्पनीले निकट भविष्यमा ९ मिटरका ३८ सिट तथा १२ मिटरका ५२ सिट क्षमताका बस समेत नेपाली बजारमा ल्याउने योजना रहेको जनाएको छ।

बसहरूको मूल्य, प्राविधिक विशेषता तथा विस्तृत विवरण भने अटो एक्स्पोमै सार्वजनिक गरिनेछ। कम्पनीले भने हाल नेपालमा उपलब्ध समान श्रेणीका अन्य बसको तुलनामा कम मूल्यमा डोङफेङका बस उपलब्ध गराइने दाबी गरेको छ। साथै, एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकका लागि विशेष छुट तथा आकर्षक अफर पनि उपलब्ध गराइने जनाएको छ।

कम्पनीले बिक्रीपछिको सेवा र जगेडा पुर्जाको उपलब्धतालाई पनि प्राथमिकतामा राखेको छ। हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेका कम्पनीहरूको देशभर फैलिएको शाखा तथा डिलर सञ्जालमार्फत मर्मत, प्राविधिक सेवा र जगेडा पुर्जाहरू सहज रूपमा उपलब्ध गराइने कम्पनीले जनाएको छ।