काठमाडौं- काठमाडौंमा आयोजना हुन लागेको NAIMA Nepal Mobility Expo 2026 को सम्पूर्ण तयारी पूरा भएको छ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) को आयोजनामा साउन २६ देखि ३१ गतेसम्म (११–१६ अगस्ट २०२६) भृकुटीमण्डपमा एक्स्पो सञ्चालन हुनेछ।
एक्स्पोको उद्घाटन साउन २६ गते बिहान ९ बजे नेपाल प्रहरी क्लबस्थित ब्लु पाभिलियन अडिटोरियम हलमा हुनेछ। उद्घाटन समारोहमा सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी तथा अटोमोबाइल क्षेत्रका प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ।
नेपालकै ठूलो मोबिलिटी प्रदर्शनीका रूपमा आयोजना हुन लागेको एक्स्पोमा ५५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अटोमोबाइल तथा मोबिलिटी ब्रान्ड सहभागी हुनेछन्। एक्स्पोमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन, नवप्रवर्तन तथा दिगो मोबिलिटीसम्बन्धी उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछ।
एक्स्पो अवधिभर Learning Sessions, Policy Dialogues तथा Industry Interactions सञ्चालन हुनेछन्। स्वदेशी तथा विदेशी विज्ञ, उद्योगका नेतृत्वकर्ता, विद्यार्थी र विभिन्न सरोकारवालाबीच ज्ञान आदानप्रदान तथा सीप विकासका कार्यक्रमसमेत आयोजना गरिनेछ।
NAIMA अध्यक्ष रितु सिंह वैद्यले एक्स्पोले नेपालको मोबिलिटी क्षेत्रको वर्तमान अवस्था प्रस्तुत गर्नुका साथै भविष्यको दिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनका अनुसार यसपटक प्रविधि, नवप्रवर्तन र दिगो मोबिलिटीका क्षेत्रमा भएका नवीनतम विकास नेपाली उपभोक्तासमक्ष ल्याइनेछ।
त्यस्तै, अटो शो प्लानिङ कमिटीका अध्यक्ष गौरव सारडाले प्रदर्शनीसँगै तालिम तथा जनचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकता दिइएको बताए। उनका अनुसार सुरक्षित तथा जिम्मेवार मोबिलिटीबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ।
NAIMA का कार्यकारी निर्देशक राजकुमार दुलालले एक्स्पो प्रदर्शनी, सिकाइ र जनचेतनाको केन्द्रका रूपमा रहने बताए। उनले ६ दिनसम्म सञ्चालन हुने विभिन्न Learning Sessions, Policy Dialogues तथा Industry Interactions मा सहभागी हुन सबैलाई आग्रह गरेका छन्।
उद्घाटनका दिन साउन २६ गते दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म एक्स्पो खुला रहनेछ भने बाँकी दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणका लागि खुला हुनेछ।
एक्स्पोको को–स्पोन्सरमा ग्लोबल आइएमई बैंक, Powered by पार्टनरमा रेडबुल, बैंकिङ पार्टनरमा एनएमबी बैंक र सिद्धार्थ बैंक तथा इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स रहेका छन्।
आयोजकका अनुसार एक्स्पोमा प्रविधि, शिक्षा, चार्जिङ, राइड, हस्पिटालिटी, मेडिकल, सुरक्षा, टिकटिङ, क्यूआर, डिजिटल, कनेक्टिभिटी लगायत विभिन्न क्षेत्रका साझेदार संस्थाको सहभागिता रहेको छ।



























































