काठमाडौं- एनसेलले नेपालमा विदेशी लगानी आकर्षित गर्न र विद्यमान लगानीकर्ताको विश्वास कायम राख्न पूर्वानुमानयोग्य तथा स्थिर लगानी वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ।
अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भएको अन्तरक्रियाका क्रममा एनसेलका प्रमुख कर्पोरेट तथा नियामकीय अधिकृत दिली राम श्रेष्ठले विदेशी लगानीकर्ताले नेपालमा व्यवसाय सञ्चालन गर्दा सामना गरिरहेका विभिन्न चुनौतीबारे सरकारको ध्यानाकर्षण गराएका हुन्।
श्रेष्ठले नियामकीय अनिश्चितता, नीतिगत स्थायित्व र व्यवसाय सञ्चालनको पूर्वानुमानयोग्यता विदेशी लगानीकर्ताका लागि महत्वपूर्ण विषय रहेको बताएका छन्। यस्ता विषयले लगानीकर्ताको विश्वास तथा नेपालमा विदेशी लगानीको दीर्घकालीन स्थायित्वमा प्रत्यक्ष प्रभाव पार्ने एनसेलको धारणा छ।
एनसेलले विदेशी लगानीकर्ताका लागि स्पष्ट नीति, स्थिर नियमन र व्यवसाय सञ्चालनमा सहज वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ। कम्पनीका अनुसार विश्वसनीय र पूर्वानुमानयोग्य व्यावसायिक वातावरण निर्माण गर्न सके नेपालमा थप विदेशी लगानी आकर्षित गर्न सहयोग पुग्नेछ।


























































