काठमाडौं – हिमालय अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल कम्पनी डोङफेङ (DONGFENG) का विद्युतीय बसहरू नेपाली बजारमा सार्वजनिक गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा अटो एक्स्पोमा कम्पनीले डोङफेङका दुई मोडलका विद्युतीय बस सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार हाल सार्वजनिक गरिएका बसमध्ये एउटा ७.२ मिटरको डोङफेङ ईभी सिटी बस र अर्को ७.२ मिटरकै डोङफेङ ईभी लक्जरी बस हो। सिटी बसमा २५ जना यात्रु र एक जना चालक तथा लक्जरी बसमा २७ जना यात्रु र एक जना चालक अट्ने क्षमता रहेको कम्पनीले जनाएको छ।
यी बसको मूल्य १ करोड १४ लाख ५० हजार रुपैयाँदेखि सुरु हुने बताइएको छ। नाइमा अटो एक्स्पोमा बुकिङ गर्ने पहिलो ५० जना ग्राहकका लागि कम्पनीले ५ लाख रुपैयाँ विशेष छुटको व्यवस्था गरेको छ।
डोङफेङ मोटर कर्पोरेसन सन् १९६९ मा स्थापना भएको चीनको प्रमुख अटोमोबाइल उत्पादकमध्ये एक हो। कम्पनीले यात्रुवाहक तथा व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारी तथा विभिन्न अटोमोबाइल पार्टपुर्जा उत्पादन गर्दै आएको छ। डोङफेङका उत्पादन विश्वका १०० भन्दा बढी देशमा बिक्री तथा निर्यात हुँदै आएका छन्।
नेपालमा डोङफेङ ब्रान्डका ट्रक, कार तथा माइक्रोबसहरू यसअघि नै बिक्री हुँदै आएका छन्। ठूला विद्युतीय बसप्रति नेपालमा बढ्दो माग तथा सरकारले विद्युतीय सार्वजनिक यातायातलाई प्राथमिकता दिन थालेको अवस्थालाई ध्यानमा राखेर डोङफेङका विद्युतीय बस नेपाल ल्याइएको आयाम इन्टरकन्टिनेन्टलले जनाएको छ।
कम्पनीका अनुसार सार्वजनिक गरिएका बसमा ग्राहकको आवश्यकता र मागअनुसार विभिन्न सुविधा थप गर्न सकिनेछ। हाल सार्वजनिक गरिएको बसमा एयर कन्डिसनिङको विकल्प नरहे पनि ग्राहकको मागअनुसार एसी जडान गरेर खरिद गर्न सकिनेछ। त्यस्तै, लक्जरी सिट पनि ग्राहकको आवश्यकता र रोजाइअनुसार थप गर्न सकिने व्यवस्था गरिएको छ।
बसको वारेन्टी ५ वर्ष वा २ लाख किलोमिटर, जुन पहिले पूरा हुन्छ, त्यति अवधिका लागि उपलब्ध गराइएको छ। ग्राहकले थप तीन वर्षको एक्स्टेन्डेड वारेन्टीसमेत खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
यस्तै, ग्राहकको मागअनुसार बसमा एक वा दुईवटा प्रवेशद्वार जडान गर्न सकिनेछ। दुईवटा प्रवेशद्वार राख्दा सिट संख्या केही घट्ने कम्पनीले स्पष्ट पारेको छ।
आयाम इन्टरकन्टिनेन्टलले आगामी दिनमा डोङफेङकै थप विद्युतीय बस नेपाली बजारमा ल्याउने तयारी गरेको छ। कम्पनीका अनुसार ८.२ मिटरका स्कुल बस, ९ मिटरका ३८ सिट क्षमताका बस र १२ मिटरका ५२ सिट क्षमताका बस पनि निकट भविष्यमा नेपाल ल्याइनेछन्। ती बसको मूल्य तथा अन्य प्राविधिक विवरण पछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ।
कम्पनीले आगामी दिनमा सार्वजनिक गर्ने डोङफेङका बसहरू नेपालमा उपलब्ध अन्य ब्रान्डका तुलनामा प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने दाबी गरेको छ। साथै, एक्स्पोमा बुकिङ गर्ने ग्राहकलाई विशेष छुट तथा अन्य सुविधा उपलब्ध गराउने तयारी गरिएको जनाएको छ।
हिमालय अर्गनाइजेसनअन्तर्गतका कम्पनीहरूले यसअघि भारतको फोर्स मोटर्स तथा चीनको एसएआईसी ग्रुपअन्तर्गतको म्याक्ससका सवारी साधन नेपालमा बिक्री गर्दै आएका छन्। डोङफेङका विद्युतीय बस थपिएसँगै समूहले नेपालमा विद्युतीय सार्वजनिक यातायातको क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरेको छ।
बसको बिक्रीपछिको सेवा, मर्मतसम्भार तथा स्पेयर पार्ट्सको उपलब्धता हिमालय अर्गनाइजेसनअन्तर्गतका कम्पनीका शाखा तथा नेपालका विभिन्न सहरमा रहेका डिलरमार्फत उपलब्ध गराइने कम्पनीले जनाएको छ।
































































