काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बागमती प्रदेश सरकारको पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यालयमा जारी बैठकमा बानियाँले नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको बागमती प्रदेश सरकार अल्पमतमा परेको अवस्थाबारे जानकारी गराएका हुन्।
उनले प्रदेशसभाको वर्तमान अंकगणितअनुसार सरकार गठनका लागि आवश्यक बहुमत कुनै पनि दल वा गठबन्धनले पुर्याउन नसक्ने अवस्था रहेको बताए। नेकपा एमाले र नेकपाबीच सरकार गठनका लागि गठबन्धन भए पनि प्रदेशसभामा रहेका राप्रपा र नेमकिपाले समर्थन नगरेको तथा हाम्रो नेपाली पार्टी कांग्रेस नेतृत्वको सरकारमा सहभागी भइसकेकाले बहुमत पुग्ने अवस्था नरहेको उनले बताएका छन्।
प्रदेशसभामा देखिएको राजनीतिक अन्योल अन्त्य गर्न कांग्रेस प्रदेश संसदीय दलले सबै दललाई कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुन लिखित आग्रह गरेको र त्यसपछि हाम्रो नेपाली पार्टी सरकारमा सहभागी भएको बानियाँले जानकारी दिए। बाँकी दललाई समेत सरकारमा सहभागी गराउन आफूले प्रयास गरिरहेको उनले बताए।
मुख्यमन्त्री बानियाँले प्रदेश सरकारको अवस्थासँगै पार्टीको आन्तरिक एकता मजबुत बनाउनुपर्ने विषयमा समेत जोड दिएका छन्। २००७ सालदेखि हालसम्मका विभिन्न राजनीतिक आन्दोलनमा कांग्रेसले अन्य दलसँग सहकार्य गर्दै आएको स्मरण गराउँदै उनले अहिले पनि पार्टीभित्र एकता र सहकार्य आवश्यक रहेको बताएका छन् ।
विगतमा पनि सरकार तथा पार्टी नेतृत्वमाथि आलोचना हुने गरेको उल्लेख गर्दै बानियाँले नेतृत्वमाथिको आलोचनालाई सामान्य रूपमा लिएर पार्टी एकतालाई थप मजबुत बनाउनुपर्ने धारणा राखेका छन्। पार्टी एकताका लागि आफूले गर्नुपर्ने सहयोग नेतृत्वलाई सधैं रहने उनको भनाइ छ।
उनले पार्टीका पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पार्टी कार्यालयबाटै आफ्ना गतिविधि अघि बढाउन र पार्टीभित्रै रहेर संघर्ष गर्न आग्रह गरेका छन्। पार्टीभित्रका दुवै पक्षमा देखिएका अतिवादी प्रवृत्तिको आलोचना गर्दै बानियाँले सबै पक्षलाई आफ्ना काम र व्यवहार सकारात्मक ढंगले अघि बढाउन सुझाव दिए ।
बागमती प्रदेशमा सरकार गठनको विषय पेचिलो बन्दै गइरहेका बेला मुख्यमन्त्री बानियाँले सबै दलबीच संवाद र सहकार्यबाट राजनीतिक अन्योल अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।



























































