काठमाडौं – माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८२र८३ मा वित्तीय प्रदर्शनमा सुधार गर्दै खुद नाफा १२.२४ प्रतिशतले बढाएको छ।
बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ थियो।
बैंकको नाफामा सुधार आएसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। अघिल्लो वर्ष १५ रुपैयाँ ५९ पैसा रहेको ईपीएस बढेर १७ रुपैयाँ ४९ पैसा पुगेको छ।
बैंकको खुद ब्याज आम्दानी ५.५३ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिसन आम्दानीमा २३.३८ प्रतिशतको वृद्धि भएको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी ११.७४ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ९८ करोड १९ लाख रुपैयाँ रहेको छ। वितरणयोग्य प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५१ पैसा कायम भएको छ।
असार मसान्तसम्म बैंकको चुक्ता पुँजी १५ अर्ब ८ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ८ अर्ब ४४ करोड रुपैयाँ सञ्चित रहेको छ। बैंकले यस अवधिसम्म २ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ९० पैसा र मूल्य–आम्दानी अनुपात १४.१८ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ।




























































