काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेला शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ। काठमाडौंको सुकेधारास्थित मिल्सकल पार्टी भेन्युमा आयोजित भेलाको उद्घाटन कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन्।


ADVERTISEMENT


उद्घाटन सत्रमा संस्थापन इतर पक्षका नेताहरूले देउवाको नेतृत्वमा कांग्रेसलाई थप एकताबद्ध र सुदृढ बनाउनुपर्ने धारणा राखेका छन्। कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरिएको बताए। उनले निवर्तमान सभापति देउवा नै आफूहरूको नेता भएको उल्लेख गर्दै उहाँकै नेतृत्वमा कांग्रेस अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।


ADVERTISEMENT

# # #


पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतले मुलुकमा जेनजी आन्दोलनको घटनापछि कांग्रेसमा नियमित महाधिवेशनको सट्टा विशेष महाधिवेशन गर्नुपरेको बताए। असामान्य अवस्थामा मात्र सर्वोच्च अदालतबाट पुनरावलोकन हुने गरेको उल्लेख गर्दै उनले सर्वोच्चबाट समेत सिंगो पार्टीमाथि न्याय हुने विश्वास व्यक्त गरे। आगामी दिनमा देउवाको नेतृत्वमा पार्टीलाई एकताबद्ध बनाउँदै अघि बढाउनुपर्ने उनको भनाइ थियो।

कांग्रेस नेता रमेश लेखकले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया सुरु भइसकेको अवस्थामा अपेक्षित समयभन्दा छिटो विशेष महाधिवेशन गर्नुपर्दा पार्टीमा समस्या उत्पन्न भएको बताए। उनले पनि कांग्रेसलाई देउवाको नेतृत्वमा एकताबद्ध बनाउने धारणा राखे।

त्यस्तै, कांग्रेस नेता मोहन बस्नेतले पार्टीलाई थप सबल र सक्षम बनाउन परिपक्व नेताहरूको सुझाव र सल्लाहलाई आत्मसात् गर्नुपर्ने बताए। देउवाको नेतृत्वमा कांग्रेसलाई शीर्ष स्थानमा पुर्‍याएर देशलाई निकास दिनुपर्ने उनको भनाइ थियो।

भेलामा सहभागी अन्य नेताहरूले पनि कांग्रेसलाई एकढिक्का बनाउन अब सबै सहभागी भएर पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।

भेला शनिबार र आइतबार पनि जारी रहनेछ। बन्दसत्रमा राजनीतिक, सांगठनिक, आर्थिक, समसामयिक विषय तथा प्रस्तावमाथि छलफल गरिने बताइएको छ।