काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकहरूले नयाँ कुरा खोजिरहेको भन्दै राज्यले उनीहरूको सिर्जना, उद्यम र कामलाई नियन्त्रण गर्नेभन्दा प्रवर्द्धन तथा सहयोग गर्ने सोच राख्नुपर्ने बताएका छन्।
शुक्रबार कांग्रेस पार्टी कार्यालयमा आयोजित ‘ग्रीन टेबल–चलचित्र बहस’ कार्यक्रममा सभापति थापाले नागरिक तथा व्यवसायीहरूले नयाँ काम गर्न खोज्दा राज्यले ‘खराब गर्छन्’ भन्दै डन्डा देखाएर नियन्त्रण गर्न खोज्ने प्रवृत्ति गलत भएको बताए।
उनले नागरिकले नयाँ सम्भावना र अवसर खोजिरहेको अवस्थामा राज्यले त्यसलाई प्रोत्साहन र सहजीकरण गर्नुपर्नेमा जोड दिए। चलचित्र क्षेत्रमा एआई प्रविधिको प्रयोग बढ्दै गएको उल्लेख गर्दै थापाले यसबाट सिर्जना हुने चुनौतीसँगै नयाँ अवसरलाई पनि आत्मसात् गर्नुपर्ने बताए।
प्रविधिको तीव्र विकाससँगै आवश्यक नीति, नियम र कानुन समयमै निर्माण गर्नुपर्ने उनको भनाइ थियो। यस विषयमा सांसद, विज्ञ तथा सम्बन्धित क्षेत्रका सरोकारवालालाई समेटेर सानो कार्यदल गठन गरी विस्तृत छलफल गरिने पनि थापाले जानकारी दिए।
यसैबीच, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबार १२ जना नेताले आफ्ना धारणा राखेका छन्। बैठकमा पार्टीको आगामी महाधिवेशनलगायतका विषयमा नेताहरूले धारणा राखेको कांग्रेसले जनाएको छ।
बैठकमा उपसभापति विश्वप्रकाश शर्मा, सहमहामन्त्री बहादुरसिंह लामा तथा केन्द्रीय सदस्यहरू रमेश रिजाल, सुजाता कोइरालालगायत नेताहरूले पार्टीको आगामी महाधिवेशन र समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राखेका छन्।




























































