काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले पाँचतारे रेडिसन होटलमा करिब २०० वटा ग्यास सिलिन्डर मौज्दात रहेको विषयलाई अस्वाभाविक वा गैरकानुनी गतिविधिसँग जोडेर प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको संयोजकत्वमा हालै गरिएको अनुगमनका क्रममा होटलमा ग्यासको मौज्दात बढी रहेको टिप्पणी सार्वजनिक भएपछि चेम्बरले यस्तो धारणा सार्वजनिक गरेको हो।
चेम्बरका अनुसार पाँचतारे होटलमा दैनिक करिब ५० देखि ६० वटासम्म ग्यास सिलिन्डर खपत हुनु सामान्य हो। त्यसैले करिब २०० सिलिन्डर मौज्दात रहनुलाई व्यावसायिक आवश्यकताका रूपमा लिनुपर्ने उसको भनाइ छ।
चेम्बरले कृत्रिम अभाव, अवैध कारोबार वा कानुनविपरीतका गतिविधिको समर्थन नगर्ने स्पष्ट पारेको छ। तर वैध रूपमा सञ्चालनमा रहेका व्यवसायलाई हतोत्साहित गर्ने गरी अपूर्ण वा सन्दर्भविहीन सूचना सार्वजनिक गर्दा निजी क्षेत्र र समग्र पर्यटन उद्योगमा नकारात्मक असर पर्न सक्ने जनाएको छ।
होटल, पर्यटन तथा अन्य उद्योग–व्यवसायमा आपूर्ति वा नियमनसम्बन्धी समस्या देखिए सम्बन्धित निकायले व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग संवाद र समन्वय गरी समाधान खोज्नुपर्ने चेम्बरको जोड छ।
व्यवसायमा आवश्यक नियमन कायम राख्दै वैध लगानी र सञ्चालनलाई सहजीकरण गर्ने वातावरण निर्माण गर्नुपर्ने भन्दै चेम्बरले तथ्यमा आधारित सूचना, जिम्मेवार अभिव्यक्ति र सरोकारवालाबीचको संवादबाट मात्र पर्यटन तथा आतिथ्य क्षेत्रको विश्वास र दिगो विकास सुनिश्चित गर्न सकिने जनाएको छ।
नेपाल चेम्बर अफ कमर्सले श्रावण ३१ गते विज्ञप्ति जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेको हो।




























































