काठमाडौँ– नेकपा (माओवादी केन्द्र)ले दोलखाको जुगुमा भएको घटनामा नेकपा (एमाले) नै जिम्मेवार भएको भन्दै सत्य तथ्य छानबिन गर्न माग गरेको छ ।


ADVERTISEMENT


सो पार्टीका ३ नं प्रदेश इन्चार्ज हितमान शाक्यले आज प्रेस विज्ञप्ति प्रकाशित गरी स्थानीय तहको निर्वाचनलाई अन्य विषयसँग जोडेर स्थानीय मतदातालाई दिगभ्रमित पारेकाले उक्त दुखद घटना हुन पुगेको बताएका छन् । स्थानीयस्तरमा भएको विवादलाई लिएर पार्टीका नेता तथा कार्यकर्तालाई किटानी जाहेरी दिनु र निर्वाचनलाई एकपक्षीय बनाउने मनसायका साथ प्रमुख प्रतिपक्षी दल एमालेले गलत प्रचार गरेको इन्चार्ज शाक्यको विज्ञप्तिमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


नेता शाक्यले उक्त घटनामा मृत्यु भएकालाई उचित क्षतिपूर्ति दिन, घाइतेको निःशुल्क उपचार गर्न र अवस्थालाई सामान्यीकरण गराउन सरकारको तर्फबाट तत्काल पहल गर्नसमेत आग्रह गरेका छन्। मङ्गलबार साँझ दोलखामा माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच भएको झडपमा एक एमाले कार्यकर्ताको निधन भएको थियो ।

माओवादीले मृतक कुलबहादुर तामाङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदनासहित उचित क्षतिपूर्तिका लागि सरकारसँग माग पनि गरेको छ ।