काठमाडौं- नयाँ बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका एक युवकविरुद्ध ५ दिनको म्याद थप गरिएको छ ।


ADVERTISEMENT


जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई काठमाडौंमा बस्दै आएका २७ वर्षीय राज कठायतविरुद्ध अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


कठायतविरुद्ध राष्ट्रसेवकलाई काममा बाधा पुर्‍याएको तथा अभद्र व्यवहार गरेको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार नयाँ बानेश्वर क्षेत्रमा ड्युटीमा रहेका प्रहरी कर्मचारीले कठायतलाई आकाशे पुल प्रयोग गरी बाटो काट्न आग्रह गरेका थिए । प्रहरीको आग्रहपछि विवाद उत्पन्न भएको र त्यसक्रममा कठायतले ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गरेको आरोप छ ।

घटनापछि प्रहरीले कठायतलाई नियन्त्रणमा लिएको थियो । उनलाई अदालतमा उपस्थित गराई अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीले ड्युटीमा खटिएका राष्ट्रसेवकमाथि हातपात गर्ने वा सरकारी काममा अवरोध पुर्‍याउने कार्य कानुनअनुसार कारबाहीको दायरामा आउने जनाएको छ ।