काठमाडौं-  बागमती प्रदेशमा सरकार गठन तथा मन्त्रालय बाँडफाँडको विषयलाई लिएर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र असन्तुष्टि चर्किएको छ ।


ADVERTISEMENT


मन्त्रालय भागबण्डामा कुरा नमिलेपछि नेकपाका ८ सांसद मुख्यमन्त्री किरण थापामगरले लिने विश्वासको मत प्रक्रियामा सहभागी नभएपछि प्रदेश सरकार अप्ठ्यारोमा परेको छ ।


ADVERTISEMENT

# # #


प्रदेश सभामा नेकपाका २६ सांसद रहेकामा ८ सांसदले असहयोग गर्ने संकेत गरेका छन् । उनीहरू असन्तुष्ट भएपछि सोमबारका लागि तय गरिएको मुख्यमन्त्रीको विश्वासको मत लिने कार्यसूची मंगलबार दिउँसो ४ बजेसम्मका लागि सारिएको छ ।

असन्तुष्ट सांसदहरूले प्रदेशमा दोस्रो ठूलो दलको हैसियतमा आफूहरूले महत्वपूर्ण मन्त्रालय पाउनुपर्ने माग गरेका छन् । उनीहरूका अनुसार एमाले र राप्रपाले तीन–तीन मन्त्रालय पाउँदा नेकपाले दुईवटा मात्रै मन्त्रालय पाएको छ ।

असन्तुष्ट पक्षमा गंगानारायण श्रेष्ठसहित कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओमकुमारी श्रेष्ठ छन् ।

सांसद कृष्ण खनालले नेतृत्वसँग छलफल भइरहेको र अहिलेसम्म कुनै सहमति नभएको बताएका छन् । माग सम्बोधन नभए विश्वासको मत नदिने निर्णयमा पुग्न सक्ने उनले संकेत गरेका छन् ।

असन्तुष्ट सांसदहरूले भौतिक पूर्वाधारजस्तो प्रभावशाली मन्त्रालय नपाएको तथा प्रदेश पार्टी सञ्चालनमा केन्द्रबाट अनावश्यक हस्तक्षेप भएको आरोपसमेत लगाएका छन् । अहिले नेकपा नेतृत्वले असन्तुष्ट सांसदहरूलाई सहमतिमा ल्याउने प्रयास गरिरहेको छ ।