काठमाडौं–सनम हत्याकाण्ड र हराएको ३३ किलो सुन छानविन गर्न गठित समितिको अनुसन्धानबाट चुडामणी उप्रेती ‘गोरे’ ले त्रिभुवन विमानस्थलमा तीन तरिकाबाट सुन तस्करी गराएको पत्ता लागेको छ । सुन तस्करी अभियोग लागेका गोरेले यस निम्ति जहाजको चर्पी, यात्रु चढ्ने–ओर्लने भर्याङ, यात्रु लिन गएको बस, विमानस्थलका डिआइजी र एसएसपीको कोठा प्रयोग गर्ने गरेको छानविन समितिका सदस्य एसएसपी बसन्त लामाले जानकारी दिए ।


ADVERTISEMENT


लामाका अनुसार सुन भित्र्याउने मुख्य तीन तरिकामध्ये पहिलो दुबइ–बैंकक–काठमाडौं उडान हो । सुन भरिया दुबइबाट थाइएयर हुँदै थाइल्याण्डको बैंकक जान्छन् । थाइल्याण्ड र दुबइमा ५० किलोसम्म सुन कर तिरेर ल्याउन पाइने हुनाले यो रूटबाट उनीहरूलाई सहज हुने लामा बताउँछन् ।


ADVERTISEMENT

# # #


दुबइबाट बैंकक ट्रान्जिट हुँदा सुन भरियाले विमानस्थलमै आफ्नो लगेजमा भएको सुन लगाएको कपडामा हाल्छन् । सुन हाल्न भनेर विशेष प्रकारको कपडा उनीहरूले लगाएका हुन्छन् । कपडामा एक–एक वटा सुनका बिस्कुट अट्ने गोजी बनाइएको हुन्छ। त्यसलाई छोप्न माथिबाट ज्याकेट लगाउँछन् ।

यी भरिया सधैँ जहाजको अन्तिम सिटमा बस्छन् ।

‘यहाँ ल्यान्ड हुने बित्तिकै जहाजको चर्पी जान्छन्,’ एसएसपी लामाले भने, ‘चर्पीमा सुन लुकाउने ठाउँ बनाइएको हुन्छ । त्यही ठाउँमा सुन हालेर उनीहरू जहाजबाट बाहिर निस्कन्छन् ।’ त्यसपछि केही बेरमै विमानस्थलका सरसफाइ कर्मचारी जहाजमा पुग्छन् र चर्पीबाट सुन निकाल्छन् । जहाजबाट यात्रु ओराल्ने र चढाउने भर्याङमा पहिलेदेखि नै सुन लुकाउने ठाउँ बनाइएका हुन्छन् । त्यसरी लुकाइएको भर्याङलाई थाइ एयरको ग्यारेजमा लगेपछि कर्मचारीले सुन निकाल्छन् । र, भित्र कतै लुकाउँछन् ।

पछि त्यहीँका कर्मचारीले स्कुटर र मोटरसाइकल प्रयोग गरी विमानस्थलभित्र संकलन भएको सुन बाहिर निकाल्छन् । मोटरसाइकलको तेल ट्यांकी र स्कुटरको खुट्टा राख्ने स्थानमा सुन राखेर ल्याइने गरेको लामाले बताए ।

त्यस्तै भरियाले दुबइबाट झोलामै पनि सुन बोकेर आउँछन् । त्यस्ता भरिया विमानस्थलमा ओर्लेपछि यात्रु बोक्ने बसको अन्तिममा गएर बस्छन् । बसको अन्तिममा लगेज लुकाउन मिल्ने ठाउँ हुन्छ । त्यही ठाउँमा लगेज हालेर भरिया बाहिर निस्कन्छ । विमानस्थलका कर्मचारीले बस ग्यारेजमा पुगेपछि सुन निकाल्छन् ।

यो पनि मोटरसाइकल र स्कुटरकै माध्यमबाट विमानस्थल बाहिर निकालिन्छ ।

तेस्रो तरिकामा पनि दुबइबाट आएको सुन भरिया जहाजको अन्तिममा नै बस्छन् । चर्पी गएर झोलामा भएको सुन आफूले लगाएको कपडामा हाल्छन् । विमानस्थलमा ओर्लिएपछि उनीहरू अध्यागमन जाने गरेको एसएसपी लामा बताउँछन् । अध्यागमनले भरियाको शरीर जाँच गर्दैन । अध्यागमनमा पासपोर्टमा छाप लगाइसकेपछि भन्सार र लगेज आउने स्थान नजिकै एउटा ढोका छ ।

लामाका अनुसार त्यो ढोकाबाट डिआइजी र एसएसपीको कोठामा जान सकिन्छ । सुन भरिया पहिचान गर्न डिआइजी र एसएसपीले त्यहाँ आफ्ना चालक खटाएका हुन्छन् । भरियाले विमानस्थलको नक्कली पास भिरेको हुन्छ ।

पास विमानस्थलले जारी गर्ने जस्तै हुने भएकाले समस्या पर्दैन । अनुसन्धानबाट त्यो पास दुबइमै बनाइएको खुल्न आएको छ । ढोकामा उभिएको प्रहरीलाई गलामा भिरेको पास अरुले नदेख्ने गरी देखाएपछि प्रहरीले भरियालाई ‘हाकिम’को कोठामा लगिदिन्छन् ।

त्यहाँ पुगेर डिआइजी वा एसएसपी जो छ, उसैलाई सुन जिम्मा लगाएर आफूहरू बाहिर निस्कन्छन् । डिआइजी र एसएसपीका कोठाबाट कार्गो जाने ढोका छ । त्यो ढोकाबाट निस्कने बेला बाहिर प्रहरीको गाडी स्ट्यान्डबाइ रहन्छ । सुन हालेर त्यो प्रहरीको गाडी आन्तरिक विमानस्थल हुँदै बाहिरिन्छ । प्रहरी हाकिमका गाडी जाँच हुँदैनन् ।

यसरी विभिन्न तरिकाबाट सुन ल्याएबापत गोरेले सुन मालिकबाट प्रतिकिलो ८० हजार रुपैयाँ लिने गरेको खुल्न आएको छ । छानविन समिति सदस्य एसएसपी लामाका अनुसार गोरेले त्यसमा ५० हजार रुपैयाँ भुजुङ गुरुङलाई दिन्थे । गुरुङले नै विमानस्थलको सबै ‘सेटिङ’ मिलाउथे ।

विमानस्थलका गोपाल श्रेष्ठ र थाइएयरका सानु वनले अन्य कर्मचारीहरूसँग मिलेमतो गरेर रकम लिन्थे । गोरे सुरुमा आफैं भरिया थिए । उनले साढे २ वर्षदेखि भरियाको काम छाडेको प्रहरीसमक्ष बताएका छन् ।

सुरुसुरुमा कसैसँग पनि सेटिङ नगरी गोरेले जोखिम मोलेरै दर्जनौं पटक सुन भित्र्याएका र उनले ल्याएको सबै सुन कलकत्ता जाने गरेको अनुसन्धानबाट पत्ता लागेको एसएसपीले लामाले बताए ।