काठमाडौं- रसुवा जिल्लामा बुधबार आएको भीषण बाढीपछि रोजगारीका सिलसिलामा रसुवा, नुवाकोट तथा त्रिशूली आसपासका क्षेत्रमा पुगेका कर्णाली प्रदेशका १३४ जना सम्पर्कविहीन भएका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोषसिंह राठौरका अनुसार बाढीपछि कर्णाली प्रदेशका १० जिल्लाका १३४ जना सम्पर्कविहीन भएको प्रारम्भिक विवरण प्राप्त भएको हो।
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका व्यक्तिहरूको अवस्थाबारे जिल्ला प्रहरी कार्यालय तथा स्थानीय प्रशासनमार्फत विवरण संकलन भइरहेको छ। प्राप्त प्रारम्भिक विवरणअनुसार १३४ जना सम्पर्कविहीन रहेको एसएसपी राठौरले जानकारी दिएका छन्।
उनका अनुसार सम्बन्धित जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रशासनबाट थप विवरण संकलन तथा प्रमाणीकरण गर्ने काम भइरहेको छ।
रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपछि विभिन्न स्थानमा मानिसहरू सम्पर्कविहीन भएका छन् भने सुरक्षाकर्मीले खोज तथा उद्धार कार्य जारी राखेका छन्।
कर्णालीबाट रोजगारीका लागि रसुवा तथा त्रिशूली क्षेत्रमा पुगेका १३४ जनाको अवस्था अझै स्पष्ट हुन नसकेपछि उनीहरूका परिवार तथा आफन्तमा चिन्ता बढेको छ। प्रहरीले सम्पर्कविहीन व्यक्तिको थप विवरण संकलन गरी खोजी तथा उद्धार कार्यलाई अघि बढाइरहेको जनाएको छ।
































































