काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २९९ पुगेको छ।
बिहीबार साँझ ६ बजेसम्मको विवरणअनुसार बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवन तथा गण्डकी प्रदेशका गोरखा, तनहुँ र नवलपरासी पूर्वमा गरी २९९ जनाको मृत्यु भएको हो।
विवरणअनुसार रसुवामा १६, नुवाकोटमा २६, धादिङमा २४ र चितवनमा ९८ जनाको मृत्यु भएको छ। यस्तै, गोरखामा ३२, तनहुँमा २२ र नवलपरासी पूर्वमा ८१ जनाको मृत्यु भएको छ।
सबैभन्दा धेरै मानवीय क्षति चितवनमा ९८ जना र त्यसपछि नवलपरासी पूर्वमा ८१ जनाको भएको छ। बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको छ। रसुवामा मात्रै ६०७ जनाको उद्धार गरिएको छ। नुवाकोटमा ३२७ जना र अन्य प्रभावित क्षेत्रमा समेत उद्धार तथा घाइतेको व्यवस्थापन भइरहेको छ।
घाइतेहरूको विभिन्न स्थानीय तथा काठमाडौंका अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं तथा पोखरालगायतका अस्पतालमा पठाइएको सम्बन्धित निकायले जनाएको छ।
बाढीपहिरोमा परी ज्यान गुमाएकामध्ये धेरैको शव विभिन्न अस्पताल तथा घटनास्थलमा राखिएको छ। साथै, खोजी तथा उद्धारका क्रममा हात, खुट्टा र पञ्जासहित ४५ वटा मानव अंग फेला परेको विवरणमा उल्लेख छ।
प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा स्थानीय तहको समन्वयमा खोजी, उद्धार, शव व्यवस्थापन र घाइतेको उपचारलाई तीव्रता दिइएको छ।































































