काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बाढीपहिरो प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितसहित रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवनलगायत जिल्लाका नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको बैंकले जनाएको छ।
प्राकृतिक विपद्का कारण विभिन्न जिल्लामा मानवीय तथा भौतिक क्षति भएको र नागरिकको दैनिक जीवन प्रभावित भइरहेका बेला राहत तथा उद्धार कार्यमा सरकार र सम्बन्धित निकायलाई सहयोग पुर्याउन बैंकले आर्थिक सहयोग गरेको हो।
बैंकले विपद्मा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, सम्पर्कविहीन व्यक्तिहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।































































