हेटौँडा- नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रभावकारी कदम चाल्न प्रदेश सरकारसँग आग्रह गरेको छ।


ADVERTISEMENT


संसदीय दलका नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सभापतित्वमा आइतबार बसेको संसदीय दलको बैठकले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङसहित चितवन, गोरखा, तनहुँ, पूर्वी तथा पश्चिम नवलपरासीमा समेत राहत तथा पुनर्स्थापनाका काम तीव्र बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो।


ADVERTISEMENT

# # #


बैठकले बाढीका कारण मृत्यु, घाइते तथा बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकको खोज तथा उद्धार कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिएको छ। घाइतेहरूको रसुवा, नुवाकोट, धादिङ, चितवन र काठमाडौंका टौखेललगायतका प्रादेशिक तथा ठूला अस्पतालमा उपचार भइरहेको भन्दै प्रदेश सरकार मातहतका अस्पतालमा घाइते बिरामीको निःशुल्क उपचार तथा बिरामी र कुरुवाका लागि निःशुल्क खानाको व्यवस्था गर्न आग्रह गरिएको छ।

त्यस्तै, संघीय तथा स्थानीय सरकारसँग समन्वय गरी उद्धार, राहत र पुनर्स्थापनाका काम तीव्र रूपमा अघि बढाउन प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ। प्रादेशिक अस्पतालबाट बिरामीका लागि निःशुल्क उपलब्ध गराइँदै आएको औषधि अस्पतालमा अभाव हुन नदिन पनि प्रदेश सरकारसँग आग्रह गरिएको छ।

विपद् कोषमा ५ लाख ११ हजार १११ रुपैयाँ सहयोग
बैठकले नेपाल सरकारको आह्वानअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका तर्फबाट ५ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने निर्णय समेत गरेको छ।

यसैगरी, बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका काममा सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य गर्न तथा प्रभावित क्षेत्रको वास्तविक अवस्थाबारे सूचना संकलन गर्न कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका सदस्य एवं नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति रमेश कुमार महतको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ।
समितिमा प्रभात तामाङ, मदु कुमार श्रेष्ठ र बिनु रायमाझी सदस्य रहने निर्णय गरिएको छ।

सडक तथा पुल तत्काल निर्माण गर्न आग्रह
बैठकले भोटेकोशी बाढीबाट प्रभावित जिल्लाहरूमा आवतजावत सहज बनाउन तत्काल वैकल्पिक बाटो निर्माण गर्न तथा कोल्हुजे पुल र लेवी ब्रिज निर्माणको काम अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ।
सडक सञ्जालमा आएको अवरोध हटाउँदै यातायात सञ्चालन सहज बनाउन संघीय सरकारसँग समेत समन्वय गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ।

घरबारविहीनका लागि पुनर्वासको माग
भोटेकोशी नदीमा आएको बाढीका कारण हजारौँ नागरिक घरबारविहीन भएको भन्दै बैठकले उनीहरूको तत्कालीन आवश्यकता सम्बोधन गर्न सरकारसँग माग गरेको छ।

बागमती प्रदेश सरकारले विपन्न, गरिब, दलित तथा सीमान्तकृत समुदायका लागि एक हजार घर निर्माण तथा आयआर्जन र रोजगारीका लागि सीप, प्रविधि र बीउ पुँजी हस्तान्तरण गर्ने कार्यक्रम चालु आर्थिक वर्षको बजेटमा समावेश गरेको स्मरण गराउँदै बाढीबाट प्रभावित घरबारविहीन नागरिकलाई प्राथमिकतामा राखी अस्थायी तथा स्थायी पुनर्वासको व्यवस्था गर्न प्रदेश सरकारसँग आग्रह गरिएको छ।

बैठकले रसुवाको भोटेकोशी नदीमा अप्रत्याशित रूपमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै विपद्मा परी ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकमा रहेका परिवारजन तथा आफन्तप्रति नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले गहिरो समवेदना व्यक्त गरेको छ।