काठमाडौं- प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएका छन् । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शाहको अमेरिका भ्रमणलाई स्वीकृति दिएसँगै उनको विदेश भ्रमण निश्चित भएको हो ।
प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल असोज ६ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुँदै प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको धारणा प्रस्तुत गर्नेछन् ।
महासभाको अवसरमा विभिन्न मुलुकका प्रतिनिधि तथा उच्चस्तरीय अधिकारीसँग भेटवार्ता र द्विपक्षीय छलफल गर्ने तयारीसमेत हुने बताइएको छ । महासभामा नेपालले पछिल्लो समय भोगिरहेका चुनौती, विकासका प्राथमिकता तथा अन्तर्राष्ट्रिय सहकार्यका विषय उठाउने अपेक्षा गरिएको छ ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री शाह नेतृत्वको टोली असोज १० गते स्वदेश फर्किनेछ । मन्त्रिपरिषद्को निर्णयसँगै प्रधानमन्त्रीको अमेरिका भ्रमणका लागि आवश्यक औपचारिक प्रक्रिया अघि बढ्ने भएको छ ।
































































