काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।


ADVERTISEMENT


बैंकले दिएको जानकारीअनुसार बैंकमा कार्यरत कर्मचारीहरूको तर्फबाट एक दिनको तलब तथा भत्ताबापत १६ लाख २० हजार ५ सय ५० रुपैयाँ र बैंकको तर्फबाट ३४ लाख ९० हजार ५ सय ६१ रुपैयाँ गरी कुल ५१ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको छ।


ADVERTISEMENT

# # #


यस्तै, बैंकले प्रभावित क्षेत्रको शिक्षा, स्वास्थ्य तथा नागरिकको पुनःस्थापनासम्बन्धी कार्यक्रमका लागि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट थप ५० लाख रुपैयाँ प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। उक्त सहयोग स्थानीय निकायसँगको समन्वयमा प्रभावित क्षेत्रमा परिचालन गरिने बैंकले जनाएको छ। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त सहयोग घोषणा गरेको हो।

गरिमा विकास बैंकले प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गर्दै सरकारी तथा सुरक्षा निकाय, स्थानीय समुदाय, गैरसरकारी संस्था र अन्य सरोकारवालाबीचको सहकार्यबाट राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ।