काठमाडौं– नेकपाका नेता एवम् परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले केरुङबाट काठमाडौंसम्म ल्याउने भनिएको रेल चीनीयाँ अनुदानमै बनाउनेबारे कुराकानी भैरहेको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


मंगलबार रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको पूर्व सन्ध्यामा आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले यस्तो खुलासा गरेका हुन् । उनले भने,‘केरुङ–काठमाडौं रेल चीनले अनुदान दिए बन्छ, हाम्रो प्रधानमन्त्रीले पनि पटक पटक भनिसक्नुभएको छ कि हामी आन्तरिक स्रोतले बनाउन सक्ने अवस्थामा छैनौं, त्यसैले चीनले अनुदानमा बनाईदिए मात्रै काठमाडौंमा रेल आउँछ ।’


ADVERTISEMENT

# # #


नेता भट्टराईले वर्तमान प्रधानमन्त्री ओली दुई वर्षअघि प्रधानमन्त्री हुँदा चीनसँग भएका रेलदेखि तेलसम्मका १० बुँदे सम्झौताहरुलाई कार्यान्वयनमा लैजान यसपटक प्राथमिकता दिईने जानकारी दिए ।

चीनसँग भएका पारवाहन तथा यातायात सन्धि, रेल, उत्तर–दक्षिण राजमार्ग, क्रस–बोर्डर टा«न्समिसन र आर्थिक लगानी तथा द्धिपक्षीय व्यापार लगायतलाई अब दु्रत गतिमा कार्यान्यवन गर्न चीनीयाँ पक्षसँग कुरा गरिने उनले जनाए । उनले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा नयाँ सम्झौताहरु हुनेपनि जनाए ।

विगतमा भएका सहमतिको कार्यान्वयन र नेपालमा विदेशी लगानी भित्र्याउनको लागि सरकारले नीतिगत स्थायित्वको विश्वास दिलाउन सक्नुपर्ने उनले बताए । यस्तै भट्टराईले विश्वमै सबैभन्दा बढि प्रत्यक्ष वैदेशिक लगानी (एफ.डि.आई) गर्ने देश चीन भएकोले नेपालले पनि चीनीयाँ लगानी भित्र्याउन यो भ्रमणलाई महत्वपूर्ण अवसर बनाउनुपर्ने बताए ।

फरक प्रसँगमा उनले प्रधानमन्त्रीको आसन्न भ्रमणमा चीनले नेपाललाई कति सहयोग प्रदान गर्छ भन्ने कुरा अहिले नै एकिन नभएको स्पष्ट पारे । उनले भने,‘कति रकम सहयोग गर्छ वा गर्दै भन्ने कुरामा हामीले अपेक्षा राखेका छैनौं, हाम्रो त कनेक्टिभिटीमा जोड छ, केरुङबाट काठमाडौं रेल ल्याउनेदेखि बिरगन्जबाट काठमाडौं रेल ल्याउ हामी दुवै देशबाट अनुदानमै यी रेल बनुन् भन्ने पक्षमा छौं।’

उनले आफूहरुको पहिलो प्राथमिकतामा विदेशी अनुदान त्यसपछि सफ्ट लोन र त्यसपछिमात्रै नाफामूलक क्षेत्रमा लगानी गर्न चल्तीको व्यवसायिक ऋण लिने रहेको स्पष्ट पारे ।

नेपाल–भारत प्रवुद्ध समूह (ईपिजी) का नेपाल तर्फका सदस्य समेत रहेका नेता भट्टराईले ईपिजीको अन्तिम बैठक यही जुन २९ र ३० मा काठमाडौंमा बस्ने जनाए ।