राहुल गुप्ता, बारा – बारा निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत फेटा गाउँपालिका–१ स्थित त्रिवेणीमा सडक ढलान कार्य सुरु भएको छ।
मंगलबारदेखि सुरु भएको सडक ढलान कार्यको उद्घाटन जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य सन्जु साहले गरेका हुन् ।
सडक ढलान कार्यको उद्घाटन कार्यक्रममा फेटा गाउँपालिका–१ का वडा अध्यक्ष बिगन दास तत्मा, विशिष्ट अतिथि मदन साह लगायत स्थानीयवासीको सहभागिता रहेको थियो। उक्त सडक ढलानका लागि ८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जनाइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि साहले सडक पूर्वाधार विकासले स्थानीयवासीको दैनिक आवतजावत सहज बनाउनुका साथै गाउँको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले विकास निर्माणका काममा गुणस्तर र पारदर्शितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै स्थानीय आवश्यकता र जनताको मागअनुसार पूर्वाधार विकासका कामलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।
सडक ढलान कार्य सुरु भएपछि त्रिवेणीका स्थानीयवासीले वर्षायाममा हुने हिलो तथा आवतजावतको समस्याबाट राहत पाउने अपेक्षा गरिएको छ। स्थानीयले सडक निर्माणसँगै आगामी दिनमा पनि गाउँका अन्य आवश्यक पूर्वाधार विकासका कामलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।




































































