काठमाडौं – काठमाडौं उपत्यकामा बुधबारबाट विधिवत रुपमा इन्द्रजात्रा सुरु भएको छ ।


ADVERTISEMENT


बसन्तपुरस्थित हनुमानढोकामा यःसी अर्थात लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु गरिएको हो । बुधबार बिहान शुभ साइतमा हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिंगो ठड्याएसँगै जात्रा सुरु हुने गर्छ ।


ADVERTISEMENT

# # #


हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ । इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइने गरिएको स्थानीय राजन महर्जनले बताए ।

काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ । इन्द्रजात्राको मुख्य रथयात्रा यही असोज ९ गते शुक्रबारदेखि सुरु हुनेछ । पहिलो दिन श्रीकुमारी, श्रीगणेश र श्रीभैरवलाई रथारोहण गराएर पूजा सम्पन्न गरेपछि तल्लो टोलतर्फ रथयात्रा गराइनेछ । उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ ।