गोरखा– तिब्बतसँग सिमाना जोडिएको उत्तरी हिमाली गाउँ साम्दो मतदान केन्द्रमा ९८.९९ प्रतिशत मत खसेको छ । चुमनुब्री गाउँपालिका वडा नं १ को उक्त मतदान केन्द्रमा ७१ मतदातामध्ये ७० जनाले मतदान गरेका हुन् । एक मतदाताको भने यसअघि नै मृत्यु भइसकेको थियो ।


ADVERTISEMENT


स्थानीय शिक्षक निमादोर्जे लामाका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान बिहान ९ बजे सम्पन्न भएको थियो । यस्तै चुमनुब्री गाउँपालिकाको न्याक आधारभूत विद्यालय मतदान केन्द्रमा पनि मतदान सकिएको छ । यहाँ ७३ जना मतदाता थिए ।


ADVERTISEMENT

# # #


एक सय चारवर्षीयद्वारा मतदान

गोरखा नगरपालिका– ११ का एक सय चारवर्षीय नन्दबहादुर पौडेलले आज भइरहेको स्थानीय तहको निर्वाचनमा चन्द्रज्योति प्रावि मतदान केन्द्रबाट मतदान गरेकी छन् । पौडेल लौरो टेकेर मतदान केन्द्रसम्म आइपुगेको स्थानीयवासी किशोरजङ्व थापाले जानकारी दिए ।

मतदान शान्तिपूर्ण

एघार वटै स्थानीय तहमा शान्तपूर्वक मतदान प्रक्रिया अघि बढिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । छिटपुट घटनाबाहेक शान्तिपूर्ण तवरले मतदान चलिरहेको हो । गोरखा नगरपालिका– ७ को नवज्योति मावि डण्डीडाँडा केन्द्रमा नेकपा(एमाले)र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच सामान्य धकेलाधकेल भएको थियो ।

यस्तै गोरखा नगरपालिका– ६ स्थित सरस्वती मावि मतदान केन्द्रमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच सामान्य धकेलाधकेल भए पनि मतदान प्रक्रिया निर्बाध रुपमा चलिरहेको छ ।