इनरुवा(रासस)–राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सचिव तेन्जी लामाको बिहीबार राति मृत्यु भएको छ । सुनसरीको इटहरीस्थित आफ्नै घरमा अत्यधिक गर्मीका कारण नुहाउन गएको बेला करेन्ट लागेर लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । उनी ३१ बर्षको रहेका थिए ।


ADVERTISEMENT


करेन्ट लागेर गम्भीर घाइते भएका लामाको उपचारका लागि धरानस्थित बिपी कोइराला प्रतिष्ठानमा लैजाने क्रममा बाटैमा मृत्यु् भएको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनका श्रीमती र दुई सन्तान छन् ।


ADVERTISEMENT

# # #


कोशीमा एक युवाको शंकास्पद मृत्यु
यसैबीच, सुनसरीको कोशी गाउँपालिका–५ श्रीपुरमा रहेको कोशी नदीको कटानको पानीमा नुहाउने क्रममा बिहीबार एकजना युवाको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा कोशी गाउँपालिका–३ पश्चिमकुशाहाका २३ वर्षीय सञ्जीव यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

इटहरी उपमहानगरपालिकामा रहेको एक ग्यारेजमा कार्य गर्दै आएका यादव बिहीबार चार दिनदेखि काम गर्न नगएको र बिहीबार एकाएक ग्यारेजमै काम गर्ने साथीहरुसँग नुहाउनका लागि गएको बेला उनको मृत्यु भएको हो ।

यता मृतकका बाबु रामचन्द्र यादवले व्यक्तिगत रिसइबीका कारण आफ्नो छोराको हत्या भएको आरोप लगाएका छन् । इटहरी–७ का भरत पराजुली र विकी ओझासहितको को ७ प २३०२ र को ३७ प ७७३१ नम्बरको मोटरसाइकलमा आएका ग्यारेजमा काम गर्ने साथीहरुले मृतक यादवलाई नुहाउन संगै लगेका थिए ।

भरत पराजुलीले यादवको पानीमा डुबेर ज्यान गएको र शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएको बताएका छन् ।

घटना शंकास्पद भएकाले चारैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यादवको शव परीक्षणका लागि जिल्ला अस्पताल, इनरुवामा राखिएको छ ।