काठमाडौँ–विभिन्न कारणले सडकमा बस्न बाध्य ज्येष्ठ नागरिकलाई घरकै जस्तो वातावरणमा आश्रय दिने उद्देश्यले स्थापित मानव सेवा आश्रमको सहयोगार्थ रु तीन लाख ७० हजार जुटेको छ ।


ADVERTISEMENT


सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन संस्थाले देशका १० स्थानमा आश्रम स्थापना गरी ५०० जनालाई आश्रय दिएको छ । विसं २०८२ भित्र नेपालभरका सडकमा मगन्ते नरहने गरी आश्रम स्थापना गर्ने लक्ष्य लिइएको सो अवसरमा जानकारी गराइयो ।


ADVERTISEMENT

# # #


उपत्यकाका पाटन, सामाखुसी र बूढानीलकण्ठमा गरी तीन आश्रम छन् । यी आश्रमका नागरिकलाई सेवा दिन वाहन खरीद गर्न सहयोग जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा टिकट खरीदबाट रु तीन लाख र सहभागीबाट रु ७० हजार गरी रु तीन लाख ७० हजार सहयोग जुटेको संस्थाका संरक्षक संस्कृतिविद् डा गोविन्द टण्डनले राससलाई जानकारी दिएका छन् ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामगरले राज्यले गर्नुपर्ने काम आश्रमले गरेकाले मन्त्रालयका तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाएका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वाहन खरीदका लागि नगर परिषद्बाटै बजेट छुट्याएर खरीदको पहल गर्ने वाचा गरेका छन् ।

कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले कोषले आगामी वर्षको बजेटमा सहयोगापेक्षी रहित पशुपति बनाउन रकमको व्यवस्था गर्ने बताएका छन् ।

सो अवसरमा जीवन विज्ञानका एलपी भानु शर्माले मानवीय अभियानमा साथ रहने सुनाए । संस्थाका अध्यक्ष रामजीप्रसाद अधिकारीले बाबु आमाको महत्व बुझाउन ‘आमा’ शीर्षकको प्रस्तुति गरेका छन् । उनको प्रस्तुति हेरेर दर्शक सबैको आँखा रसाएका थिए ।

आश्रमले पशुपति क्षेत्रलाई मगन्तेरहित बनाउन सहयोग गरेको थियो । पशुपतिका मगन्ते हाल उपत्यकाका आश्रममा आश्रय लिइरहेका छन् । आश्रमको पहलमा गोरखा नगरपालिकाले गोरखा जिल्लालाई सहयोगापेक्षी रहित जिल्ला घोषणा गरेको छ । हेटौँडा र चितवनमा पनि यस्तो घोषणाको तयारी भएको संरक्षक डा टण्डनले सुनाएका छन् ।

अर्थमन्त्री डा युवराज खतिवडाले शनिबार अपराह्न सामाखुसीस्थित आश्रमको निरीक्षण गरेका थिए । आश्रमले गरेको कामको प्रसंशा गर्नुहुँदै उनले सरकारका तर्फबाट सक्दो सहयोग गर्ने वाचा गर्नुभएको पनि उनले जानकारी दिएका छन् । रासस