काठमाडौं–सरकारले मन्त्रालयगत विभिन्न शीर्षकमा छुट्याइएको बजेटको पुस्तक नछापेका कारण आइतबारको संसद् बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ । सरकारले १२ दिनअघि जेठ १५ गते आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेट सार्वजनिक गरेको थियो ।


ADVERTISEMENT


आइतबारका लागि प्रतिनिधिसभाको दैनिक कार्यसूचीमा ४ वटा मन्त्रालयको विनियोजन विधेयकको विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यक्रम रहेको थियो ।


ADVERTISEMENT

# # #


विशेष समयमा सांसदहरूले बोलिसकेपछि अचानक सभामुख कृष्णबहादुर महराले १ देखि ७ नम्बरसम्म रहेको कार्यसूचीको विषय हटाइएको जानकारी दिएका थिए । संसद् सचिवालयले ६ दिनसम्म मन्त्रालयगत छलफल गर्ने र ३ दिनसम्म सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यतालिका थियो। दैनिक ११ बजेदेखि ५ घण्टासम्म छलफल गर्ने भनिए पनि शुरूकै बैठक अघि बढ्न सकेन ।

संयुक्त कार्यविधि आज पारित हुँदै
संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली–२०७५ आज सोमबार पारित हुँदै छ । आज दिउँसो १ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा नियमावली पारित हुने सांसद लक्ष्मणलाल कर्णले बताएका छन् । ‘संयुक्त बैठक कसरी चलाउने र समितिलाई कसरी व्यवस्थित गरिने भन्ने नियम यो संयुक्त नियमावलीमा उल्लेख छ’, कर्णले भने– ‘केही संयुक्त बैठक बस्नुपर्ने हुन्छ र केही समितिले संयुक्तरूपमा काम गर्नेछन्।’

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका सञ्चार विज्ञ अशोक पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावली–२०७५ बनाउनका लागि गठित दुवै समितिको संयुक्त बैठकले यो संयुक्त नियमावली बनाएको बताए । संयुक्त बैठकको सञ्चालन प्रतिनिधिसभाको सभामुखले गर्नुहुनेछ, सभामुखसँगै राष्ट्रिय सभाका अध्यक्ष पनि ड्यासमा सँगै रहनुहुनेछ । – आजको नेपाल समाचारपत्रबाट