काठमाडौँ– अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले अन्तरराष्ट्रिय खेलमा आफ्नो भविष्य रूसमा हुने विश्वकपमा देशको प्रदर्शनमा निर्भर रहेको बताएका छन् ।


ADVERTISEMENT


मेसीले स्पेनको डेली स्पोर्ट्ससँग कुरा गर्दै भनेका छन्, ‘मेरो अन्तरराष्ट्रिय करिअरको भविष्य रुसमा हुने विश्वकपमा देशले गर्ने प्रदर्शनमा निर्भर हुनेछ । हामी विश्वकप कसरी टुंग्याउँछौँ, त्यसैमा मेरो भविष्य पनि अडिएको छ ।’


ADVERTISEMENT

# # #


बार्सिलोनाका यी फरवर्डले आफूहरुले लगातार तीन पटक फाइनल गुमाइसकेको पनि स्मरण गरे । ‘हामीले लगातार तीन फाइनल गुमाइसकेका छौँ । जसकाकारण मिडियासँग हामीले एकदमै कठिन अवस्थाको सामना गर्नुपरिरहेको छ ।’

मेसीले अझ अर्जेन्टिनाका सञ्चारमाध्‍यमसँग त आफूहरुको सम्बन्ध राम्रो हुन नसकेको बताएका छन् । ‘विशेषगरी अर्जेन्टिनाका सञ्चारमाध्यमसँग हाम्रो सम्बन्ध राम्रो रहेन । हामीले गुमाएका तीन फाइनलले कति महत्वपूर्ण अर्थ राख्छन् भन्ने कुरालाई लिएर हाम्रो दृष्टिकोणमा गहिरो मतभेद छ ।’

अर्जेन्टिनाको टिमले सन् २०१४ मा विश्व कप फाइनलमा जर्मनीविरुद्ध अतिरिक्त समयमा १–० ले नतिजा सुम्पिएको थियो । त्यसपछि सन् २०१५ र २०१६ मा कोपा अमेरिका कपको उपाधि पनि पेनल्टी सुटआउटमा गुमाउँदै अर्जेन्टिना नमिठो पीडाबाट गुज्रिएको छ ।

विश्वकपका क्रममा ३१ वर्ष पुग्न लागेका मेसीले स्पेन, ब्राजिल, जर्मनी, फ्रान्स र बेल्जियमलाई यो विश्वकपको उपाधि दाबेदार सूचीमा राखेका छन् । तर उनले अर्जेन्टिनाको उपाधि दाबेदारीबारे केही बोलेका छैनन् ।

अर्जेन्टिनाको टिमले विश्वकपको आफ्नो यात्रा मस्कोमा शनिवार आइसल्यान्डविरुद्ध सुरु गर्दैछ । त्यसपछि अर्जेन्टिनाले ग्रुप डीको अन्य खेलमा क्रोएसिया र नाइजेरियासँग खेल्दैछ ।