धनुषा– जनकपुरका औषधि पसलमा स्वास्थ्य सेवा विभागको टोलीले अनुगमन गरेको छ । मङ्गलबार बेलुकादेखि विभागबाट आएको सातजनाको टोलीले अनुगमन थालेको हो ।


ADVERTISEMENT


टोलीले अनुगमन थालेपछि अवैध तरिकाले सञ्चालित औषधि पसल धमाधम बन्द गरेर पसले फरार भएका छन् । बिनादर्ता सञ्चालित औषधि पसल र प्रतिबन्धित औषधिको विषयमा अनुगमन गरेको टोलीका ड्रग इन्स्पेक्टर डा चन्देश्वर यादवले जानकारी दिए।


ADVERTISEMENT

# # #


अधिकांश बिना दर्ता सञ्चालित पसल बन्द गरेर सञ्चालक फरार भएपछि खुलेका पसलमा अनुगमन गरेको उनले जानकारी दिए। धनुषाको लक्ष्मनिया बजार र जनकपुरमा गरेको अनुगमनका क्रममा प्रमाणपत्र नभएका केही पसल बन्द गराइएको थियो ।

जनकपुरमा अधिकांश क्लिनिक, औषधि पसल, अस्पताल, मेडिकललगायतको निजी स्वास्थ्य संस्था २० वर्ष लामो समयदेखि अवैधरुपमा सञ्चालनमा रहेका छन् ।

गएको २०७३ पुस २६ गते तत्कालीन धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीको नेतृत्वमा रहेको अनुगमन टोलीले अनुगमन गरेपछि त्यसको विरोधमा औषधि व्यवसायी सङ्घले वैध तथा अवैध तरिकाले सञ्चालित औषधि पसल बन्द गरेर आन्दोलनमा उत्रेको थियो ।

औषधि व्यवसायी सङ्घको आन्दोलनको प्रभावले त्यतिबेला तत्कालीन अनुगमन टोलीका संयोजक गिरीको धनुषाबाट सरुवा भएको थियो जसकाकारण अवैधरुपमा सञ्चालित निजी स्वास्थ्य संस्थाका सञ्चालकको मनोबल बढेको थियो ।