रसुवा– पशु चौपायालाई पोषणयुक्त घाँसको विस्तार गर्न यहाँबाट सोलु, मनाङ र मुस्ताङ जिल्लामा राइजात घाँसको बीउ पठाइएको छ ।


ADVERTISEMENT


चरण तथा घाँसेबाली अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत नरेन्द्रप्रसाद शाहका अनुसार पहिलोचरणअन्तर्गत यहाँका आमा समूहले उत्पादन गरेका राइजातको घाँसका बीउ २९४ केजी बीउ उक्त केन्द्रमार्फत सोलु, मनाङ र मुस्ताङ पु¥याउन काठमाडौँ पठाइएको हो ।


ADVERTISEMENT

# # #


समुद्री सतहबाट एक हजार ८०० देखि दुई हजार २०० मिटरको उचाइ भूभागमा उत्पादन हुने राइजातको घाँस गाईभैँसी र भेडा बाख्रासमेतका लागि उपयुक्त हुने र यहाँका किसानले आफ्नै बारीमा उत्पादन गरेका बीउबाट किसानले प्रतिकेजी ३५० का दरले भुक्तानी पाउने चरन तथा घाँसेबाली अनुसन्धान केन्द्रले जनाएको छ ।

उक्त घाँसको बीउ उत्पादनका लागि यहाँ २० जना कृषक लगनशील भएको र २०२७ सालदेखि धुञ्चेमा अनुसन्धान केन्द्र स्थापना भई लामो समयको अनुसन्धानबाट किसान माझ सिफारिस गरिएको उक्त बीउ हिमाली भेकका जिल्लाबाट वर्षेनी माग बढ्दै आएको अनुसन्धान केन्द्रका प्राविधिकले बताएका छन् ।

यस्तै चरन तथा घाँसेबाली अनुसन्धान केन्द्रले जिल्लाभित्रका चरन क्षेत्रमा जै, भेच र राइग्रासका बीउ छर्ने गरेको र खेतबारीका खाली कान्लामा रोपनका लागि बैस, भोटेपीपल, किम्बु, निबारो, दुधिलोलगायत सात हजार डाले घाँसका बिरुवा वर्षेनी यहाँका किसानलाई वितरण गर्दै आएको समेत प्राविधिक अधिकृत शाहले बताए ।