काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भ्रमणका क्रममा मंगलबार आज चीन प्रस्थान गरेका छन् । चार मन्त्रीसहित १ सय १९ जनाको जम्बो टोली लिएर प्रधानमन्त्री ओली बिहान साढे ८ बजे हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरी चीन गएका हुन् । प्रधानमन्त्रीलाई उच्च सरकारी अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई गरे ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीसँगै गृह मन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उर्जा मन्त्री वर्षमान पुन तथा यातायात मन्त्री रघुबीर महासेठसहित अधिकांश उच्च पदका सरकारी अधिकारी भ्रमणमा गएका छन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीका साथ सरकारी प्रतिनिधिमण्डलमा ४२, सञ्चारकर्मी ६ र बेइजिङस्थित नेपाली दूतावासका आठजना सहभागी हुनेछन् । त्यसैगरी विभिन्न सञ्चारमाध्यका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार ११ र उद्योगी व्यापारीको टोलीमा ५२ जना सहभागी हुनेछन्। सबै गरी ११९ जना हुनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले चीनका वरिष्ठ नेतासँग भेटवार्ता गर्नाका साथै नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत् समूहलाई बेइजिङमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले चीनका राष्ट्रपति सी चीन फिङले अघि सारेको ‘एक क्षेत्र एक मार्ग (बीआरआई)’ अन्तर्गत पूर्वाधार निर्माण, लगानी, ऊर्जा, पर्यटनलगायत विषयमा द्विपक्षीय छलफल र समझदारीपत्रमा समेत हस्ताक्षर हुने जानकारी दिए । उनले भने ,‘नेपालको आर्थिक सामाजिक विकास र समृद्धि प्राप्त गर्ने सरकारको लक्ष्यलाई केन्द्रविन्दुमा राखेर प्रधानमन्त्रीको भ्रमणको तयारी गरिएको छ ।’ द्विपक्षीय सहयोगलाई अझ घनीभूत तथा फराकिलो बनाएर लैजाने मुख्य उद्देश्यसहित भ्रमण हुन लागेको सचिव वैरागीले जानकारी दिए ।

भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुनेछ। प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्नेछन् । त्यहाँ उनले तिब्बतका प्रान्तीय नेतासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही असार १० गते स्वदेश फर्कनेछ ।