प्रधानमन्त्री केपी शर्मा ओली चीनको ६ दिने औपचारिक भ्रमणका लागि बेइजिङमा छन् । ११९ जनाको जनाको जम्बो टोलि लिएर चीन गएका प्रधानमन्त्री ओलीको यस भ्रमणको मुख्य सन्देश के हो ? यसले नेपाललाई के फाइदा पुग्छ ? यस अघि भएका सम्झौताको कार्यान्वयनका लागि यो भ्रमण कत्तिको प्रभावकारी होला ? लगायतका विषयमा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठसंग हिमालयपोष्टले कुराकानी गरेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीको चीन भ्रमण सुरु भएको छ । यसलाई कसरी विश्लेषण गरिराख्नु भएको छ ?


ADVERTISEMENT

# # #


हाम्रो भारतपछिको अर्को छिमेकी चीन हो । प्रधानमन्त्री ओलीको भारत भ्रमण भएसंगै चीन भ्रमण निश्चित थियो । अब हामी राजनीतिक स्थिरतातर्फ गएकाले दुबै देशसंग राम्रो सम्बन्ध राख्नुपर्छ । नेपाललाई विकासको बाटोमा लैजानका लागि जुन स्रोत, साधन र लगानी चाहिन्छ त्यही लगानी जुटाउने उद्देश्यले नै यो भ्रमण भएको हो । यस भ्रमणको विशेषता नै कुटनीतिका माध्यामबाट लगानी जुटाउनु हो । चीन अब हाम्रो छिमेकी मात्र नभई विकासको साझेदार पनि हो । यसको लागि रेल जोड्ने कुरा एउटा, विजुलीको ट्रान्समिसन लाईन जोड्ने दोस्रो कुरा हो भने तेस्रो कुरा चाहीँ उत्तरी क्षेत्रको सीमा क्षेत्रका विकास गर्ने हो । मुलभूत रुपमा यो भ्रमण विकासका एजेण्डालाई लिएर गरिएको हो ।

यो भ्रमण नेपालका लागि कत्तिको महत्वपूर्ण छ । यसले के-के कुरालाई बाहिर ल्याउला त ?

सबैभन्दा महत्वपूर्ण कुरा त भारत र चीन दुबैले काठमाडौँमा १० वर्षभित्र रेल पुर्याउँछन् । हेर्दाखेरि उनीहरुबीच एक किसिमको प्रतिस्पर्धा देखिन सक्छ । तर भित्री कुरा दुबैले नेपाल भएर एक अर्कासंग व्यापार गर्न चाहन्छन् । पहिले पनि कोदारीराजमार्ग सुरु हुँदा भारतले विरोध गरेको थियो । तर पछि उसैले पारवाहन सुविधा खोज्यो । अहिले भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच बाक्लो भेटघाट भएको छ । २ वर्षमा १४ पटक भेटिसकेका छन् ।  भारतलाई पनि राम्रै सम्बन्ध राख भनेर चीनले भनिराखेको छ । अहिले ट्रेड वारमा भारत र चीन एक ठाउँमा छन् । किन भने ट्रम्पको अमेरिका पहिलो नीतिले भारत र चीन दुबैको व्यापार घटाइदिएको छ । यद्दपी शीतयुद्धमा भने भारतको सहयात्री अमेरिका बन्दै आएको छ । त्यस कारण नेपालले यो दुबै कुरालाई बुझेर आफ्नो राष्ट्रिय स्वार्थलाई ध्यानमा राख्दै सम्बन्धलाई सन्तुलित बनाउनु पर्छ ।

चीनको लगानी र प्राविधिक कुराहरु तथा नेपालको कच्चा पदार्थबाट उत्पादित सामानलाई चिनियाँ बजारमा नै पठाउन सकियो भने चीनसंगको व्यापार घाटा घटाउन सकिन्छ । नेपालमा चिनियाँ र भारतीय रेल आउने भनेपछि अहिले अन्तराष्ट्रिय लगानीकर्ताको ध्यान नेपाल तर्फ आकर्षित भएको छ । त्यस कारण यो भ्रमणले नेपालको विकासको सपनालाई पूरा गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

यसअघि पनि पटक पटक नेपालका प्रधानमन्त्रीको चीन भ्रमण भएकै हो । तर ती भ्रमणले नेपालका लागि ठोस एजेण्डा तय गर्न सकेनन् । अहिले प्रधानमन्त्री ओलीले यो भ्रमणमा के कुरालाई प्रमुख अर्जुनदृष्टि राख्नुपर्छ ?

पहिलो कुरा के हो भने नेपाल भुपरिवेष्ठित देश भएकाले पारबाहन हक भारतसंग मात्र होइन चीन संग पनि माग्नुपर्छ । बिना रोकतोक तेस्रो देश जानका लागि कुन कुन नाका, बन्दरगाह प्रयोग गर्न पाउने भनेर सम्झौतामा सही गर्नुपर्छ । ता कि कसैले नाकाबन्दी गर्न सक्ने सम्भावना सँधैँका लागि अन्त्य होस् । १४ ओटा देशसंग चीनको सीमा जोडिएको छ । त्यसमा आठवटा त भुपरिवेष्ठित नै छ । बीआरआई भन्ने जुन अवधारणा आएको छ । त्यो भूपरिवेष्ठित देशका लागि स्वर्ण युगमा प्रवेश गर्ने मौका हो ।

यसबाट लाभ लिने उद्देश्यमा प्रधानमन्त्री ओलीको आर्थिक कुटनीति निर्देशित हुनुपर्छ । अर्को भनेको ओली भारत जाँदा चीनले उत्पादन गरिदिएको बिजुली भारतले किन्दैन भनेर भारतीय सञ्चार माध्यामले लेखेका थिए । यसको अर्थ भारतीय एकाधिकार नेपालमा कायम गर्ने हो । यसको भय बाट मुक्त हुने उपाय भनेको ट्रान्समिसन लाईन चीनसंग पनि जोड्ने हो । उत्तरसंग पनि उर्जा व्यापार सम्झौता गर्ने कुरामा ध्यान दिनुपर्छ ।

चीनसंग बिजुलीको व्यापारका लागि भौगोलिक कुराहरु पनि आउलान् । यो कत्तिको सम्भव छ ?

किन सम्भव नहुनु ? रसुवामा रेल आएपछि त्यही मार्गमा ट्रान्समिसन लाइन पनि जोड्न सकिन्छ नि । फेरि विद्युतीय रेल ल्याउने हो भने त उसलाई सञ्चालनका लागि पनि बिजुली चाहियो नि ! यसको मार्ग प्रयोग गर्न सकियो भने भारतीय एकाधिकार बनाउने मोदी हेरेको हेरै हुन्छन् । अर्को बंगालेश पनि नेपालको बिजुलीमा लगानी गर्छु भनिरहेको छ । भारतले ट्रान्समिसन लाइन दियो भने केही बिजुली बंगलादेश लान्छौँ भनेर भनिरहेको छ । भनेको छिमेकीको बीचमा नेपालको जलविद्युत त प्रतिस्पर्धामा गयो नि ? त्यस कारण यसलाई सम्भव बनाउनु पर्छ ।

अहिले चीनसंगको हाम्रो अर्बौको व्यापार घाटामा छ । त्यसलाई सन्तुलित बनाउनका लागि के-के गर्नुपर्छ ?

नेपाल उर्बर भूमि हो । किनकी विश्व अर्थतन्त्रमा उदाउँदै गरेका र बजार ठूलो भएको दुई ठूला देशको बीचमा हामी छौँ । नेपालको उत्पादन चीन र भारतमा सजिलै जानसक्ने भएको बहुराष्ट्रिय कम्पनीको नजर नेपालतिर सोझिएको छ । यसले नेपालको समृद्धिको लागि काम गर्छ । जहाँसम्म चीनसंग व्यपार घाटा कसरी कम गर्ने भन्ने कुरा छ । यसमा मैँले माथि भनेजस्तै पहिलो कुरा उत्पादनमा वृद्धि गर्ने हो । जहिले पनि हामीले उत्तरी क्षेत्रलाई हामीले वेवास्ता गर्यौँ । अब नेपालले उत्तरी क्षेत्रमा सामान पुर्याउन तिब्बतको बाटो प्रयोग गर्नुपर्छ ।

मैँले माथि भनेजस्तै व्यापार घाटा रोक्ने प्रमुख उपाय भनेको विजुली हो । हामीले बिजुली चिनियाँ लगानीमा उत्पादन गरेर चीनलाई नै बेच्न सक्यौँ भने त्यसले व्यापार घाटाको अवस्थालाई कम गर्छ । अर्को भनेको चिनियाँ रेलको कुरा आइरहेको छ । चीनबाट सामान ल्याएर आएको रेललाई हामीले रित्तो पठाउनु भएन । त्यसका लागि हामीले आफ्नो उत्पादन बढाउनुपर्यो । यिनै कुराहरु हुन् ।

कालापानी र लिपुलेकको समस्या पनि बेलाबेला उठ्ने गरेका छन् । प्रधानमन्त्री ओलीको यो चीन भ्रमणले यस्ता कतिपय राजनीतिक मुद्दालाई सल्ट्याउला त ?

अहिले हामीसंग दुई तिहाईको बलियो सरकार छ । यस्तै दुई छिमेकी देशसंगको सम्बन्ध पनि उत्तिकै राम्रो छ । यस्तै भारत र चीनबीच पनि अहिले राम्रै किसिमको सम्बन्ध अगाडि बढेको छ । यही मौका पारेर कालापानी र लिपुलेकको समस्या समाधान गर्नुपर्छ । किनभने त्यो त्रिदेशीय बिन्दुको जिरो पोइन्ट कहाँबाट सुरु हुन्छ निणर्य भएको छैन । तीन वटै देशका कार्यकारी बसेर यसलाई टुंग्याइनु पर्छ । अहिले भारतसंगको १९५० को सन्धि हेरफेर गर्ने कुरा आएको छ । यता चीनसंग पनि १९६० मा विपी कोइराला र चाउ एनलाईले सही गरेको चीनसंग भएको शान्ति मैत्री सन्धि छ । त्यसलाई पनि २१ औँ शताब्दी सुहाउँदो गरी परिमार्जन गर्नुपर्छ । मेरो भनाई के हो भने चीनसंग पनि २१ औँ शताब्दी सुहाउँदो पञ्चशीलको सिद्धान्तमा आधारित नयाँ सन्धि गर्नुपर्छ । यही अनुसार नयाँ सम्बन्धको सुरुवात गर्नुपर्छ ।

यो भ्रमणले नेपालले मात्रै फाइदा हुन्छ कि चीनलाई पनि केही फाइदा उठाउँछ ?

यसले दुबैलाई फाइदा हुन्छ । नेपाल चीनसंग वा भारतसंग निर्भरमात्र होइन अन्तरनिर्भरता बढाउनतिर लाग्नु पर्छ । लिने मात्र होइन दिने कुरा उत्पादन गरेर परनिर्भरता अन्त्य गर्ने यो महत्वपूर्ण भ्रमण हुन्छ र बनाउनु पर्छ । भन्सार होइन अन्तशुल्कबाट कमाउने, आयातबाट होइन निर्यातबाट कमाउने बाटो समाउनु पर्छ ।

यस अघिका भ्रमणमा भएको सम्झौता हस्ताक्षर मात्रै हुने तर कार्यान्वयन नहुने स्थिति रहेको छ । यो भ्रमणमा पनि त्यही ताल हुने देखिन्छ कि के छ ? यस्तै ओलीको भ्रमणले सीको नेपाल भ्रमणको पनि बाटो खुल्छ ?

हो । यो महत्वपूर्ण प्रश्न हो । चीनले कुलेखानी तेस्रो बनाउछु भनेको दशकौँ भइसक्यो । यस्तै अन्य योजना पनि छन् । तिनको अवस्था सुध्रिनु पर्छ । यसपालि सबै बुद्धि पुर्याएर यस्ता कामहरु ढिलो नहोस् भनेर नेपाल र चीनको बीचमा एउटा मेकानिज्म तयार पानुपर्छ । अब सीको नेपाल भ्रमणको कुरामा ओलीले लाई विश्वासमा पार्न सके कि सकेनन् भन्ने कुराको जाँच यही हो । सीलाई नेपाल ल्याउन सके कि सकेनन् भन्ने कुरामा ओलीको भ्रमणको महत्व चित्रण गर्छ । नेपाली जनता पनि सीलाई नेपालमा देख्न आतुर छन् । किनभने चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण नभएको वषौँ भइसकेको छ । सीको नेपाल भ्रमणको तयारी पनि हो यो भ्रमण । त्यसैले सीलाई स्वागत गर्न नेपाली जनता आतुर छन् भन्ने सन्देश दिन पनि यो भ्रमण भएको हो ।

अन्त्यमा, पहिलेको भन्दा वर्तमान समयमा चीनले नेपाललाई बढी चासोका साथ हेर्न थालेको हो ?

हो, पहिले भन्दा ध्यान दिएको छ । यसमा दुईवटा कारण छ । एउटा नेपाल पर सर्यो भने तेस्रो मुलुकले नेपाललाई खेलाउँछ र चीनको सुरक्षालाई पनि आघात पुग्छ भन्ने हो । नेपाल अस्थिर भयो भने चीनको हितमा पनि हुँदैन भनेर उसले बुझेको छ । यही सद्भावनालाई सदुपयोग गरेर हामीले हाम्रो समृद्धिको चाहाना पूरा गर्नुपर्छ । यस्तै नेपालले पनि आफ्नो केही जिम्मेवारी भने पूरा गर्नै पर्छ । जस्तो एक चीन नीति मुखले भनेर हुँदैन । पालना पनि गर्नुपर्छ । नेपाली भूमी चीनको विरुद्धमा प्रयोग हुन दिनु हुँदैन । भारतसंगको खुला सीमानाको अन्य देशले फाइदा उठाउन सक्छन् । त्यसमा चनाखो हुनुपर्छ ।