काठमाडौं– उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङ पुगेका छन् । उनी बुधबार विहान काठमाडौंबाट प्रस्थान गरेका थिए ।


ADVERTISEMENT


चिनियाँ प्रधानमन्त्री लि खछ्याङको निमन्त्रणमा चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीलाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उच्च पदस्थ चिनियाँ अधिकारी र चीनका लागि नेपालका राजदूत लीलामणि पौड्यालले स्वागत गरेका थिए ।


ADVERTISEMENT

# # #


ओली राजधानी बेइजिङमा नेपाली दूतावासले गरेको कार्यक्रममा सहभागी भएका छन् । दूतावासले आफ्नो सम्मानमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले रेलमार्गका साथै सडकमार्ग, हवाई मार्ग, सञ्चार र ऊर्जाका क्षेत्रमा भएका समझदारी अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

उनले भने, प्रभावकारी सम्पर्क सञ्जालले नेपाललाई विश्व बजारको उत्पादन र वितरणका क्षेत्रमा प्रवेश गराउनेछ । यसले क्षेत्रीय सम्पर्क सञ्जाल विस्तारमा पनि महत्वपूर्ण आयाम प्रदान गर्नेछ ।’

चीनसँग विगतमा भएको व्यापार तथा पारवहन सम्झौता अघि बढाउन नेपालले थप पहल गरेको उनले जानकारी दिए । ओलीले भने, ‘भूपरिवेष्ठित मुलुक नेपालका लागि यातायातको सहजतापछि व्यापार तथा पारवहनमा खर्च कटौती हुनाका साथै अन्तर्राष्ट्रिय व्यापारमा समेत बढोत्तरी हुन जानेछ ।’

प्रधानमन्त्री ओलीले आज(बुधबार)बाट उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । भोलि अपराहृन चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुई देशबीच सम्झौता पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा ११९ सदस्य छन् । टोलीमा पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला विज्ञ डा. राजन भट्टराई, मुख्यसचिव लोकदर्शन रेग्मी, अर्थसचिव डा. राजन खनाल, परराष्ट्रसचिव शंकरदास वैरागी, वाणिज्य सचिव चन्द्रकुमार घिमिरे, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणा लगायत छन् ।