काठमाडौँ– नेपाली समयअनुसार ५ बजेर ४५ मिनेट जाँदा सेन्ट पिटर्सवर्गमा सुरु हुने कोस्टारिका विरुद्धको खेलअघि ब्राजिली फुटबलर नेयमारको फिटनेसका विषयमा अनेक टिकाटिप्पणाी भइरहेको छ । स्वीटजरल्यान्ड विरुद्ध ब्राजिलले एक/एक गोलको बराबरी खेल्दा नेयमार पूर्ण फर्ममा थिएनन् । त्यसमाथि उनी पटक–पटक मैदानमा फलको शिकार बने । त्यसयता, चोटका कारण उनले मंगलबार अभ्यास गुमाए ।


ADVERTISEMENT


बुधबारबाट यी खेलाडी अभ्यासमा फर्किएका छन् । तर, पूर्ण ठिक छन् वा छैनन् भन्ने विषय खुलेको छैन । ब्राजिलका लागि फिलिपो काउटिन्होले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले ब्राजिललाई अग्रता पनि दिलाएका थिए । तर स्वीटजरल्यान्डले बराबरी गोल फर्कायो । समुह ईमा आफ्नो पहिलो खेल जित्न नसकेको ब्राजिल जितका लागि जति भोको देखिएको छ । प्रतियोगिताको दोस्रो चरणको यात्रा तय गर्ने आशा जगाउन कोस्टारिकालाई पनि आजको खेल जित्नुपर्ने बाध्यता छ किनकी पहिलो खेलमा कोस्टारिकालाई सर्बियाले १–० ले पराजित गरिसकेको छ ।

‘विश्वकपका सबै खेलजस्तो यो पनि गाह्रो खेल हो,’ ब्राजिली मिडफिल्डर काउटिन्होले भनेका छन्, ‘सबै खेल सन्तुलित देखिएका छन् र कोस्टारिका निकै बलियो टोली हो । सर्बियाविरुद्धको खेलमा पनि फ्रिकिक गोलका कारण मात्रै कोस्टारिका पराजित भएको थियो ।’

मार्सेलो, कासिमेरो, काउटिन्हो, ग्राबियल जेसस, रोर्बटो फिर्मिन्हो लगायतका खेलाडी चम्कन सके यस खेलमा ब्राजिल हाबी हुने पक्का नै छ । तर नेयमार मैदानमा हुन्छन् वा बेन्चमा अनि स्टार खेलाडीले नाम अनुसारको खेल देखाउँछन् वा देखाउँदैनन् ? यही प्रश्नले आजको खेलको स्तर निर्धारण गर्छ । के, साँचो हो भने आजको खेलमा जित निकाल्न नसके अन्तिम खेलमा ब्राजिल पनि दबाबमै पर्नेछ ।

इतिहास ब्राजिलको पक्षमा
निश्चय नै ५ पटकको विजेता ब्राजिली तुलनात्मक रुपमा बलियो टोली हो । ब्राजिल अहिलेसम्म विश्वकपका सबै संस्करण खेल्ने एकमात्रै टोली हो । त्यसैले पनि उसलाई दाबेदारका रुपमा हेरिएको छ । तर, यसको अर्थ ब्राजिली टोली अनुभवी छ भन्ने होइन । ब्राजिलको २३ सदस्यीय टोलीमा ४ खेलाडीले मात्रै सन् २०१४ को विश्वकप खेलेका छन् ।

यता कोस्टारिका पाँचौ पटक विश्वकप खेलिरहेको छ । टोलीको अहिलेसम्मको सबैभन्दा राम्रो यात्रा सन् २०१४ मा भएको विश्वकप नै हो । ब्राजिलमा भएको उक्त विश्वकपमा कोस्टारिका क्वाटरफाइनल पुगेको थियो ।

उक्त विश्वकप खेल्ने टोलीका अधिकांश सदस्य नै अहिलेको टोलीमा छन् । तर, उनीहरु चार वर्षअघिजस्तो शसक्त देखिएका छैनन् ।

यी दुई टोलीबीच अहिलेसम्म अन्तर्राष्ट्रिय फुटबलमा १० पटक भिडन्त भएको छ र ९ पटक ब्राजिलले जित निकालेको छ । जसमा एकपटक मात्रै कोस्टारिका विजयी भएको छ । विश्वकपमा भने यी दुई टोली तेस्रोपटक भिड्न लागेका हुन् । यसअघि सन् १९९० को विश्वकपमा ब्राजिलले १–० र सन् २००२ को विश्वकपमा ५–० को जित निकालेको थियो ।

प्लेयर टु वाच
केलर नाभास


ब्राजिलसँग विश्वकै आक्रामक टोली हुनक्छ । तर, कोस्टारिका पनि कम छैन किनकी त्यस्तो आक्रमण निस्तेज पार्नसक्ने गोलकिपर कोस्टारिकामा छन् ।

रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्ने यी गोलकिपर ठूला खेलका खेलाडी मानिन्छन् । उनले महत्वपूर्ण समयमा उत्कृष्ट बचाउ गर्दै टोलीको रक्षा गर्ने गरेका छन् । गत संस्करणको विश्वकपमा यी गोलकिपर चम्कँदा उरुग्वे र इटलीलाई कोस्टारिकाले हराएको थियो । त्यस्तै, इङ्ग्ल्यान्डविरुद्ध बराबरी खेलेको थियो ।

सन् २०१५–०१५ को सिजन उनले च्याम्पियन्स लिगका सुरुवाती ८ खेलमा कुनै गोल खाएनन् । जसका कारण प्रतियोगिताकै सर्वाधिक क्लिन सिट पाउने गोलकिपरको सूचीमा उनको नाम जेन्स लेम्यानपछि दोस्रो स्थानमा रहन गयो । सन् २०१६–०१७ मा रियलले स्पेनिस ला–लिगा र च्याम्पियन्स लिग जित्दा यी खेलाडीले नै गोलपोस्टको जिम्मा लिएका थिए ।

यस सिजनमा उनले रियल म्याड्रिडबाट च्याम्पियन्स लिगमा ११ खेले खेले । त्यस क्रममा रियलले ऐतिहासिक रुपमा तेस्रोपल्ट च्याम्पियन्स लिग जित्यो । नाभासले राष्ट्रिय टोलीबाट ७८ खेल खेलिसकेका छन् ।

सर्बिया विरुद्ध स्वीटजरल्यान्ड


आफ्नो पहिलो खेलमा ५ पटकको विजेता ब्राजिल विरुद्ध गोल फर्काएको स्वीटजरल्यान्ड जति उत्साहित छ । कोस्टारिका विरुद्धको सुरुवाती खेल जितेको सर्बिया उत्तिकै आत्मविश्वासका साथ मैदानमा उत्रनेछ । युरोपका यी दुई टोलीबीचको खेल आक्रामक हुने अनुमान लगाइएको छ किनकी दोस्रो चरणमा पुग्नका लागि दुबै टोली आजको खेल जित्न चाहन्छन् । पहिलो खेल जितिसकेको सर्बिया आज विजयी हुनसके सिधैं दोस्रो चरणका लागि छनोट हुनेछ । खेल स्वीटजरल्यान्डले जितेको खण्डमा दोस्रो चरण प्रवेशका लागि उसले अन्तिम खेलसम्म कुर्नुपर्नेछ । यो खेल नेपाली समयअनुसार ११ बजेर ४५ मिनेट जाँदा हुनेछ ।

नाइजेरिया विरुद्ध आइसल्यान्ड


आजै समुह डिको प्रतिस्पर्धामा नाइजेरिया र आइसल्यान्डबीच नेपाली समयअनुसार ८ बजेर ४५ मिनेट जाँदा भिडन्त हुँदैछ । यस समूहमा यी दुई टोलीलाइ कमजोर आँकिएको छ भने क्रोएशिया र अर्जेन्टिना बलियो मानिएका छन् । क्रोएशियासँग पहिलो खेल गुमाएको नाइजेरिया आज कुनै पनि हालतमा जित निकाल्न चाहन्छ किनकी उसले अन्तिम खेलमा अर्जेन्टिनाको सामना गर्नुपर्नेछ । यसअघि अर्जेन्टिना विरुद्धको खेलमा पुुरै रक्षात्मक देखिएको आइसल्यान्डले आफ्नो रणनीतिमा सफल हुँदै खेल बराबर गरेको थियो । आजको खेलमा काउन्टर एट्याकमा ध्यान दिदैं महत्वपूर्ण ३ अंक बटुल्ने लक्ष्य आइसल्यान्डको छ ।