• नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्बमन्त्री शंकर भण्डारीसंग हिमालय पोष्टको बिशेष कुराकानी :-

तपाई कांग्रेसको युवा नेता हुनुहुन्छ । संविधान कार्यान्वयनको लागि भएका चुनावहरु कांग्रेसकै नेतृत्वमा सफल त भए तर मत परिणाममा रुख चिन्ह पछि परेको देखियो । कसरी हेरिरहनु भएको छ ?


ADVERTISEMENT


यो बिषयमा पार्टी भित्र बिभिन्न चरणमा छलफलहरु भएका छन् । केन्द्रीय समितीको लामो समिक्षात्मक बैठक समेत बसिसकेको छ ।
वाम गठबन्धनको प्रभाव निर्वाचन परिणाममा देखियो । दोस्रो र तेस्रो पार्टी एक हुँदा पहिलो पार्टीलाई अवस्य पनि असर पार्छ नै । अर्को कारण भनेको पार्टीको आन्तरिक कुरा पनि हो । हामी रणनीतिक रुपमा पनि असफल भयौँ । कहीँ न कहीँ हामीले टिकट वितरणमा गल्ती गर्याैँ । बिभिन्न कारणले नै काँग्रेसले अपेक्षाकृत रुपमा मत पाउन सकेन ।


ADVERTISEMENT

# # #


बिषय, अब कसरी अगाडी बढ्ने भन्ने हो । बिगतका काम कारबाहीहरुलाई मध्यनजर राखेर आगामी निर्वोचन जित्ने योजना हामीले बनाउनुपर्छ । त्यसका लागि सबैले आ आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ । अर्को कुरा, पार्टी बलियो हुने र कमजोर हुने भन्नेमा सभापतिको भूमिका पनि हुन्छ । उहाँको पनि केही कमी कमजोरी भएको छ । यी सबै कुराहरुलाई सुधार गर्ने हो भने हामी आगामी निर्वाचनमा राम्रो नतिजा ल्याउन सक्छौँ, काँग्रेस फेरी पनि यो देशमा बलियो बनेर उदाउनेछ ।

निर्वाचनमा गठबन्धन बनाएका दुई ठूला कम्यूनिस्ट पार्टीे अहिले एक भएका छन् । यसमा कांग्रेसको प्रतिक्रिया के छ ?

यसको त हामीले स्वागत नै गरेका छौँ । नवनिर्मित पार्टीलाई हामीले शुभकामना नै दिएका छौँ । तर अहिलेको पार्टीका प्रमुख नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति जसरी आएको छ, त्यसमा आग्रह र पूर्वाग्रह जस्तो देखिन्छ । बहुमतमा उहाँले सरकार बनाउनु भएको छ । यसमा हाम्रो सल्लाह के छ भने बोल्ने होइन काम गरेर देखाउनुस् । २००७ साल देखि अहिले सम्म कांग्रेसले देशका हरेक राजनीतिक, सामाजिक, आर्थिक परिवर्तनको नेतृत्व गरिरहेको छ । त्यसैले बोलि होईन, कर्मलाई ईतिहाँसले मूल्याँकन गर्नेछ ।

कम्युनिस्टहरुले आग्रह र पूर्वाग्रहबाट प्रेरित भएर अभिव्यक्ति दिएर हुनेवाला केही छैन । मुख्यकुरा देश बनाउनुपर्यो । दुई तिहाईको घमण्ड र अहंकार त्यागेर देश निर्माणमा सरकार लाग्नुपर्यो । पार्टी एकता गर्नुभएको छ । त्यसको फाइदा देशले उठाउन सक्नुपर्यो । तब पो एकता काम लाग्यो त। सरकारको मुल्याँकन गुण र दोषका आधारमा हुन्छ भनेर हामीले भनिसकेका छौं।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली त प्रतिपक्षी भए नभएको अनुभवै छैन भनिरहेका छन् । किन होला ?

देशको प्रधानमन्त्रीको सम्मान गर्नैपर्छ, पार्टीको अध्यक्षलाई हामी त सम्मान नै गर्छौँ । तर त्यत्रो तहमा पुगेको मानिसले त्यही पनि हेक्का नराख्नु बडो दुर्भाग्य हो की कांग्रेस सशक्त प्रतिपक्षको रुपमा सदनमा बलियो गरी उभिएको छ ।

कांग्रेसको जनमत आफ्नो सरह छ भन्ने हेक्का उहाँलाई छैन ? त्यस कारण केपी ओलीले जुन विचार व्यक्त गर्नु भएको छ । त्यो अत्यन्त उत्ताउलो, उत्तेजनात्मक र गैरजिम्मेवारपूर्ण छ । यसमा हाम्रो खासै गुनासो त छैन । तर उहाँले पदीय हैसियतमा बस्नुपर्छ यदि केपी ओलीमा अहिलकती पनि राजनीतिक चेतना छ भने ।

स्वर्गीय सुशिल कोइरालाको नेतृत्वमा संविधान जारी भइसकेपछि कम्युनिस्टकै गठबन्धनमा सरकार बनेको होइन ? ओली नै प्रधानमन्त्री बनेका होइनन् ? तीन तहका निर्वाचन गर्ने उद्देश्यले बनेको त्यो सरकारले के गर्यो ? त्यसका लागि कति भूमिका खेल्यो, त्यो हामीसंग प्रमाण छँदैछ ।

९ महिना हावादारी कुरा गरेर उहाँ बाहिरिएको होइन ? कांग्रेस सत्तामा गइसकेपछि कांग्रेसको नेतृत्वमा सबै तहका निर्वाचनहरु सम्पन्न भए । हामीले निर्वाचन गराईदियौँ र त कम्युनिष्टहरुले जित्न पाएका हुन् । नत्र यो देशमा निर्वाचन हुने वातावरण थियो ? काँग्रेसले आफ्नो हारजितको लेखाजोखा नगरी नै देश जित्नुपर्छ, संविधान कार्यान्वयन हुनुपर्छ, राजनीतिक स्थायित्व र आर्थिक विकास र समृद्धि तर्फ मूलुक अघि बढ्नु पर्छ भनेर नै तीनै तहका निर्वाचनहरु सम्पन्न गरेको कुराको हेक्का राख्नु आवश्यक छ । त्यस कारण कांग्रेसको बारेमा तल्लो स्तरको टिप्पणी गर्नुको कुनै तुक छैन । लोकतान्त्रिक परिपाटीमा सबैको सम्मान गर्न सिक्नुपर्छ ।

निर्वाचन सम्पन्न भएपछि देशले स्थायी सरकार पाएको छ । विकास र समृद्धिकै लागि जनमत आएको छ । तर के जनमतको सम्मान यो सरकारले गर्न सक्ला ?

अहिलेका कामहरुको मुल्याङ्कन गर्दा सरकार पुरै अधिनायकवाद शैलीमा जाने कोशिस गरिरहेको छ । प्रशासनिक क्षेत्रमा पुरै कब्जाको रणनीतिमा सरकार गएको छ । हरेक व्यावसायीलाई आतंकित पार्ने गरी काम भएको छ । कुटनीतिक क्षेत्रमा आफ्नो मर्यादाको ख्याल राख्ने हैसियत सरकारले देखाउन सकेको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा पनि धेरै कुरा देखियो । अघिल्लो पटक कांग्रेसलाई लम्पसारवादी भनेको एमाले अहिले आफु महालम्पसार परेको सबैले छर्लङ्गै देखेका छन् ।

एक सय दिनसम्म सरकारले गरेका काम पनि हामीले हेरेका छौँ । यस्तै हो भने प्रतिपक्षि चुप लागेर मात्रै संसदमा बस्नेछैन । संसदीय परिपाटीमा प्रतिपक्षीलाई मयार्दाहीन व्यवहार गरेर सरकार अगाडी बढ्न सक्दैन । अहिलेसम्म सरकारले राम्रो लक्षण देखाएको छैन । पार्टीले समिक्षा गरेपछि आवश्यक रणनीति अनुसार हामी अघि बढ्छौँ ।

यो सरकार अरुबाट सञ्चालित हो । यसबाट केही भरोसा गर्न सकिँदैन । सरकार धेरै समय टिक्ने लक्षण पनि देखिरहेको छैन । झलनाथ खनालको अभिव्यक्ति पनि तपाईहरुले सुन्नु भयो होला । पार्टी एकताको विरोध वरिष्ठ नताहरुले गरिरहेका छन् । जबरजस्त किसिमले बनाएको यो एकताबाट देशलाई धोका हुने खतरा देखिँदैछ ।

विकास र समृद्धिको नै नेतृत्व गर्न चाहीँ काँग्रेस कत्तिको आतुर छ त ? त्यसका निम्ती पार्टीलाई तयार बनाउन तपाईहरु जस्तो युवाहरुको भूमिका चाहीँ अब काँग्रेसमा कस्तो देखिनेछ ?

त्याग र बलिदान, जोश र साहसले युवा बनाउँछ । दुई चार अक्षर पत्रिकामा लेख्दैमा, धेरै बोल्दैमा युवा भन्ने हुँदैन । त्यस कारण युवाका नाममा जुन किसिमको परिभाषा छ, त्यो गलत छ । आफूमा देखिएको महोत्वकांक्षालाई कम गर्दै अझ बढी त्यागको भावना देखाउन जरुरी छ । जहाँसम्म कांग्रेसलाई बलियो बनाउने कुरा छ, त्यसमा हामीले सर्वप्रथम आफ्नो जग बलियो बनाउनु पर्छ । पार्टी भित्रको सांगठानिक एकतालाई ध्यान दिनुपर्छ । समयले माग गरेको मूलुकको एजेन्डालाई त यस अघि देखि काँग्रेसले नै नेतृत्व गर्दै आएकै हो, अब फेरी पनि देश हाँक्ने र जनताको सपना पुरा गर्न फेरी पनि नेपाली काँग्रेस नै आउनेछ ।

अन्त्यमा, जसरी वाम शक्तिहरुको एकता भयो । अब लोकतान्त्रिक पार्टीहरु पनि एक हुनुपर्छ भन्ने बहसहरु पनि सुनिने गरेको छ । यस्लाई काँग्रेसले कत्तिको महत्व दिईरहेको छ ?

एकदमै । नेकपालाई सही मार्गमा हिँडाउन पनि यो अब अपरिहार्य भइसकेको छ । एकतन्त्रीय शासन मन नपराउने राष्ट्रवादी तथा प्रजातान्त्रिक लोकतान्त्रिक शक्तिहरु एक हुनुपर्छ । कांग्रेसले त्यसको अगुवाई गर्नुपर्छ । यो देशमा लोकतन्त्र जोगाउन र मजबुत बनाउन काँग्रेस संधै अग्रमोर्चामै रहिरहनेछ ।