काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण समृद्ध नेपाल निर्माणका लागि सहयोगी बनेको बताएका छन् । असार ५ देखि १० गतेसम्म मित्रराष्ट्र चीनको भ्रमण गरेका प्रधानमन्त्रीले स्वदेश फर्केको तेस्रो दिन प्रतिनिधिसभालाई आफ्नो भ्रमणका उपलब्धिबारे जानकारी गराएका हुन् ।


ADVERTISEMENT


मंगलबार बिहान बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एउटा मुलुकको विकासको प्रयासमात्र पर्याप्त नहुने भएकोले छिमेकीहरूको सहयोग जुटाउन आफू लागेको बताए ।


ADVERTISEMENT

# # #


“हामीले छिमेकीसँग सम्बन्ध सुधारेका छौँ । विश्वास, समझदारी र सहकार्यको वातावरण निर्माण गर्न सफलता प्राप्त गरेका छौँ”, प्रधानमन्त्रीले भने ।

सरकार क्षणिक हिसाबले एक छिमेकीका विरुद्ध अर्को छिमेकीलाई उचाल्न नलागेको स्पष्ट पार्दै प्रधानमन्त्रीले छिमेकीहरूबीच समेत सहकार्य र विश्वासको वातावरण बनाउनु आफ्नो भूमिका रहेको बताए।

“हामी क्षणिक हिसाबले एउटा विरुद्ध अर्कोको कार्ड खेल्ने, उचाल्ने अथवा तात्कालीक हितका निम्ति गैरजिम्मेवार तरिकाले चल्ने काम गर्दैनौँ”, प्रधानमन्त्रीले भने, “हामी दुबै छिमेकीहरूसँग विश्वासयोग्य, भरपर्दो र पारस्परिक सहयोग तथा सहकार्यको वातावरण निर्माण गर्न चाहन्छौँ।”

नेपालको विकासको प्रयासमा छिमेकीको साथ चाहिने भएकोले त्यसनिम्ति आफ्नो सरकारले प्रयास गरेको प्रधानमन्त्रीको भनाई छ। छिमेकी मुलुकहरूको सम्वेदनशीलता पनि नेपालले बुझेको बताउँदै प्रधानमन्त्रीले उनीहरूको जायज चासोको सम्बोधन गर्ने बताए ।