एजेन्सी– अर्जेन्टिनाका लेजेन्डरी फुटबल खेलाडी तथा पूर्व प्रशिक्षक डिएगो म्याराडोनाले इङ्ल्यान्डमाथि लगाएको छलिको आरोपका लागि माफी मागेका छन् । यसअघि उनले कोलम्बियाविरुद्धको खेलमा इङ्ल्यान्डले छलपूर्वक जित हासिल गरेको बयान दिएर ठूलो विवाद खडा गरेका थिए जसप्रति फिफाले कडा आलोचना गर्दै उनको हर्कतलाई गलत ठहर गरेको हो ।


ADVERTISEMENT


म्याराडोनाका अनुसार सो खेलका रेफ्री मार्क गेइगरले इङ्ल्यान्डको पक्ष लिएर त्यसैअनुरुप निर्णय लिएका थिए जसकारण सो टिम विजयी भएको छ । तर फिफाको लगातार दबाबपछि म्याराडोनाले सामाजिक संजालमार्फत आफूले अनुचित व्यवहार गरेको स्वीकर गरी माफी मागेका हुन् । उनले भने, “मैले भनेका केही कुराहरु अस्वीकार्य थिए, त्यो म मान्छु ।”


ADVERTISEMENT

# # #


उनले सो पोस्टको तल आफ्नो र फिफाका अध्यक्ष गिआनीको तस्बिर पनि राखि माफी मागेका हुन् । उनले थप भने, “म फुटबल संघ र रेफ्रीको कामलाई अत्यन्तै सम्मान गर्दछु । मलाई थाहा छ उनीहरुको काम सहज छैन ।”

५७ वर्षीय म्याराडोनाले यसअघि नै इङ्ल्यान्डका क्याप्टेन ह्यारी केनले कोलम्बियाका खेलाडी कार्लोस सन्जेजविरुद्ध ‘फल’ गर्दो सान्जेजले पेनाल्टी पाउनुपर्ने तर्क गरेका थिए तर त्यतिबेला गेइगरले इङ्ल्यान्डको पक्षमा निर्णय लिएपछि केनले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । यसैकारण म्याराडोनाले रेफ्री गेइगरप्रति पटकपटक असन्तुष्टि जनाएको बताइन्छ ।

सो खेलमा म्याराडोना भने कोलम्बियाको पहिरनमा खेलाडी येरी मिनाको गोलपछि खुसी मनाइरहेको देखा परेका थिए । भेनेजुएलास्थित टेलिसुर ब्रोडकाकस्टरका लागि दिएको अन्तर्वार्तामा उनले गइगर अमेरिकी रेफ्री भएको भन्दै उनलाई सो खेलको जिम्मा दिनु नै सबैभन्दा ठूलो गल्ति रहेको ठहर गरेका थिए । तर फिफाले भने सो म्याच दुवै टोलीका लागि अत्यन्तै कठिन र भावनात्मक रहेकाले खेलको जिम्मा दिइएका सबै अधिकारीले सकारात्मकतापूर्वक निरीक्षण गरेको बताएको छ ।

त्यसैगरी कोलम्बियाका कप्तान रेडमेल फेल्काउले पनि गेइगरमाथि अन्यायपूर्ण निर्णय लिएको र इङ्ल्यान्डको सहायता गरेको आरोप लगाइसकेका छन् । उनका अनुसार खेलमा रेफ्रीले आफ्नो टिमलाई धेरै ठाउँमा अवरोध पुर्याएका थिए । सो खेलका लागि अमेरिकी रेफ्री राखेकामा नै आफूलाई धेरै अनौठो र शंकास्पद महसुस भएको उनले यसअघि बताएका थिए ।