काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनले सङ्घीयता, गणतन्त्र, समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरेको बताएका छन् ।


ADVERTISEMENT


निजी निवास लाजिम्पाटमा आज विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई नेकपा (माओवादी केन्द्र) मा स्वागत गर्दै उनले स्थानीय तहको निर्वाचनलाई अब कसैले उल्टाउन नसक्ने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताए ।


ADVERTISEMENT

# # #


नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका दाहालले भने – “भर्खरै स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ, यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ । अब कसैले यो उपलब्धि उल्टाउन सक्दैन । तपाईंहरु जसरी माओवादी केन्द्रमा आउनुभएको छ, परिवर्तनका मुद्दाहरु संस्थागत गर्न र देशको समृद्धिका लागि तपाईंहरुको ठूलो योगदान रहनेछ, म यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दछु ।”
नेपाली राजनीतिमा सकारात्मक परिघटनाहरु अगाडि बढेको भन्दै उनले संविधान कार्यान्वयनको महान् प्रक्रिया सुरु भएको र यही जेठ ३१ गते पनि दोस्रो चरणको निर्वाचन सम्पन्न भएरै छाड्ने विश्वास व्यक्त गरे।

सो अवसरमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता टिआर खम्बुसहितका तीन दर्जन नेता विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

यस्तै कार्यक्रममा नयाँ शक्तिका नेताहरु डा चेतकुमारी गुरुङ, डा चन्द्र लक्जम्बालगायतका केन्द्रीय नेता प्रवेश गरेका थिए ।
माओवादी केन्द्र प्रवेश गर्दै नेता खम्बुले केन्द्रमा निहित अधिकार जनताको घरआँगनमा लैजान माओवादी केन्द्र र प्रचण्डको अतुलनीय योगदान रहेको बताउँदै माओवादी केन्द्रकै नेतृत्वमा जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादमा पुग्ने बताए ।

कार्यक्रममा नयाँ शक्तिका नेताद्वय डा लक्जम्बा र डा गुरुङले अहिले हेर्दा सामान्य लागे पनि गाउँपालिका र नगरपालिकाको माओवादी अवधारणाले केही वर्षमा नेपालको आर्थिक विकास र समृद्धिमा कायापलट आउने भएकाले त्यसबाट प्रभावित भएर आफूहरु माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।