काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का भातृ संगठन युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग (वाइसीएल)बीच यही साउनभित्र एकता हुने भएको छ ।


ADVERTISEMENT


दुवै संगठनले एकताका लागि तयार पारेको विधानमा संगठनको केन्द्रीय कमिटीमा आउनका लागि पार्टीको सदस्यता अनिवार्य गर्न लागिएको जनाइएको छ ।


ADVERTISEMENT

# # #


संगठनमा १६ देखि २४ वर्षसम्मका युवालाई विशेष आरक्षण दिनुपर्ने, राष्ट्र निर्माणमा युवा शक्तिलाई परिचालन गर्नुपर्ने, समाजवाद र राष्ट्रिय पूँजी निर्माणका लागि युवा वर्गले भूमिका निर्वाह गर्नुपर्नेलगायत विषय विधानमा समेटिएको छ ।

एकतापछि हुने संगठनको नाम र केन्द्रीय समितिमा रहने सदस्यको टुंगो लागिनसकेकाले उक्त विषय छलफलका क्रममा रहेको युवा संघका महासचिव नरेश शाहीले जानकारी दिए। दुवै संगठनलाई व्यवस्थित तरिकाले एकताबद्ध गर्नका लागि युवा संघका इञ्चार्ज महेन्द्रबहादुर पाण्डे र अध्यक्ष रमेश पौडेल तथा कम्युनिस्ट लिगका इञ्चार्ज मणि थापा र रामप्रसाद सापकोटा रहेको कार्यदल निर्माण गरिएको थियो । पेरिसडाँडास्थित उक्त कार्यदललाई एकताका लागि अहिलेसम्म गरिएका तयारी तथा विधानको मस्यौदा आज बुझाइएको छ ।

इञ्चार्ज पाण्डेले चाँडो एकता गर्नुपर्नेमा जोड दिँदै एकतापछि मुलुकको राजनीतिक, सामाजिक विकास र प्रगतिका लागि नवीनतम सोच र दूरगामी दृष्टिकोणका साथ युवा वर्ग अगाडि आउनुपर्ने बताए । अर्का इञ्चार्ज थापाले उक्त विधान युवालाई अवसर प्रदान गर्ने युवामैत्री रहेको बताउँदै युवाशक्ति संगठित भई सामाजिक सेवाका साथै व्यावसायिक तथा उद्यमशीलतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए।