काठमाडौं– लागु औषध खरिद, बिक्री गर्ने चार जनालाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । लागु औषध ओसारपसार गरेको भन्ने विषेश सुराकीको आधारमा ललितपुर प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेमा काठमाडौं किर्तिपुर नगरपालिका वडा नं. ६ बस्ने २८ वर्षीय विनोद मानन्धर, ललितपुर महालक्ष्मी नगरपालिका लाँकुरी भन्ज्याङ्ग बस्ने २९ वर्षीय विजय लामा, विरगंज महानगरपालिका–१६ श्रीपुर घर भएको ४० वर्षीय धनन्जय पुन मगर र ऐ.ऐ. घर भएका शत्रुघन पासवानलाई २ हजार ३ सय ३४ पिस अवैध लागु औषध सहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रवक्ता नरेन्द्र चन्दले जानकारी दिए ।


ADVERTISEMENT

# # #


ललितपुर महानगरपालिका वडा नं. ४ अफलडोलमा शंकास्पद अवस्थामा फेला पारी निजलाई खानतलासी गर्दा निजको साथबाट डाईजेल्याब एम्पल ३० पिस, नुफिन एम्पल ३० पिस, फेनारगन ३० पिस सहित मानन्धर गत १३ गते पक्राउ परेका थिए ।

मानन्धरलाई सोधपुछ गर्दा विजय लामाले बिक्री गर्न दिएको भनी खुलाएपछि लामालाई सोही दिन ललितपुर म.न.पा. वडा नं. ५ मानभवनबाट पक्राउ गरिएको हो । निजको साथबाट २ वटा रातो रङको ग्यालेनमा रहेको डाईजेल्याब एम्पल ३५५ पिस, नुफिन एम्पल ३५५ पिस, फेनारगन ३५५ पिस बरामद गरिएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान गर्दै जाँदा गत बुधबार ललितपुर महानगरपालिका–२ स्टार अस्पताल नजिकबाट मगरसँगै पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूको साथमाबाट हरियो र पहेँलो रङको २ वटा ग्यालेन भित्र रहेको डाईजेल्याब एम्पल ३९३ पिस, नुफिन एम्पल ३९३ पिस, फेनारगन ३९३ पिस बरामद गरिएको प्रहरीले जनाएको छ । अवैध लागु औषध सहित ४ जनालाई पक्राउ गरी अनुसन्धान भई रहेको प्रहरी प्रवक्ता चन्दले जानकारी दिए ।