काठमाडौं – पहिलो ऐतिहासिक एक दिवसीय क्रिकेट सिरिज अन्तर्गत नेदरल्याण्डसंगको दोस्रो खेल नेपालले शुक्रबार खेल्दैछ । पहिलो खेलमा ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा बदला लिने उद्देश्यका मैदान उत्रिनेछ ।


ADVERTISEMENT


नेदरल्याण्डको एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा घरेलु टिमसँग नेपाल प्रतिस्पर्धा गर्न लागेको हो । सिरिजको पहिलो खेलमा पराजित भएको नेपालले हिलो ऐतिहासिक एक दिवसीय सिरिजटुङ्ग्याउनका लागि पनि यो खेल जित्नै पनि दबाब छ ।


ADVERTISEMENT

# # #


यसअघिको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्ड १ सय ८९ रनमा अलआउट बनेको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपाल १ विकेटको क्षतिमा ८५ रनको स्थितिमा रहे पनि १ सय ३४ रनमा अलआउट भयो । कप्तान पारस खड्काले २६ रन खर्चेर ४ विकेट लिए भने उनलाई सोमपाल कामीले ३ विकेट लिँदै राम्रो साथ दिए ।

तर, फेरि एकपटक नेपाललाई ब्याटिङले धोका दियो । पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल (५१) तथा अनिल साह (२१) ले ५८ रनको साझेदारी गरे । शीर्ष चार ब्याट्सम्यानमा खड्काले १२ तथा दीपेन्द्र सिंह ऐरीले ३३ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि ब्याटिङतर्फ ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गर्दै ५१ बनाएका थिए । उनी एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बने । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाए पनि अन्य खेलाडीले राम्रो रन बनाउन नसक्दा पहिलो खेलमा हार ब्यहोरेको थियो ।

तर यी सबै पीडालाई भुल्दै नेपाल शुक्रबारको खेल जितेर आफ्नो इतिहासकै पहिलो एकदिवसीय श्रृङ्खला बराबरीमा टुङ्ग्याउँदै स्वदेश फर्किने लक्ष्यमा रहेको छ ।

तर नेपालका लागि शुक्रबार एउटा अभाव भने खड्किनेछ । किनकि फिनिसरको रुपमा रहेका नेपालका भरपर्दा ब्याट्समेन शरद भेषावकर टिममा हुनेछैनन् । उनी यसअघिको पहिलो खेलमा फिल्डिङ गर्ने क्रममा घाइतेभएपछि मैदान उत्रिने छैनन् । शरदको कान्छी औलामा चोट लागेको छ ।

सम्बन्धित समाचार : नेपाली क्रिकेटको इतिहासमा नयाँ अध्यायको सुरुवात

शरद नआउँदा उनको स्थानमा युवा ब्याट्समेन रोहित कुमार पौडेल आउन सक्नेछन् । शरदको अभावलाई उनले कत्तिको पूर्ती गर्नेछन् त्यो भने हेर्नलायक हुनेछ । यद्दपी उनको क्षमतालाई भने नजरअन्दाज गर्न मिल्दैन । यसअघि गत फेब्रुअरीमा नामिबियामा भएको डिभिजन २ र मार्चमा जिम्बावेमा भएको विश्वकप छनोटमा उनले आफुलाई प्रमाणित गरिसकेका छन् ।

१५ वर्षीय यी स्टार रोहितले डिभिजन २ मा नेपालको तर्फबाट सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा कप्तान पारस खड्कापछि दोस्रो नम्बरमा रहेका थिए । यस्तै विश्वकप छनोटमा संकटपूर्ण अवस्थामा हङकङविरुद्ध छैटौँ नम्बरमा आएर ४८ रन प्रहार गर्दै जित दिलाएका थिए । अन्य खेलमा पनि राम्रै खेलेका थिए ।

‘प्लेयर्स् टु वाच’ 

माइकल रिप्पोन (नेदरल्याण्ड)

यस अघिको पहिलो खेलमा लो स्कोरिङ खेलमा रिप्पोनको अलराउण्ड प्रदर्शन नै नेदरल्याण्डको जीतको कारण बनेको थियो । उनले मध्यक्रममा राम्रो प्रदर्शन गरे भने बलिङमा नेपालको शीर्ष पाँचमध्ये दुई ब्याट्सम्यानलाई आफ्नो शिकार बनाए । उनी ‘म्यान अफ द म्याच’ पनि बने ।

रिरप्पोनसंगै कप्तान पिटर सीलर, विल्से वारेसी र फ्रेडेरिक क्लासेनपनि जुनसुकै समय नेदरल्याण्डलाई जित दिलाउने हैसियत राख्छन् ।

पारस खड्का (नेपाल)

चार डच खेलाडीलाई आउट गर्दै नेपालका कप्तानले बलिङमा राम्रो प्रदर्शन गरे । ब्याटिङमा आफ्नो क्षमता अनुरुप प्रदर्शन गर्न नसकेपनि पारसले दोस्रो खेलमा राम्रो प्रदर्शन गर्ने नेपालको आशा रहनेछ ।

यस्तै नेपालका लागि कप्तान पारसबाहेक उपकप्तान ज्ञानेन्द्र मल्ल, युवा लेग स्पिनर सन्दीप लामिछाने, सोमपाल कामी पनि नेदरल्याण्डविरुद्ध बलियो खम्बा भएर उत्रिनेछन् ।

नेपाल र नेदरल्याण्डबीचको दोस्रो एकदिवसीय खेल शुक्रबार नेपाली समय अनुसार दिउँसो २ : ४५ बजे हुँदैछ ।