काँडाघारी– काँडाघारीस्थित हाइल्यान्ड स्कुलमा कक्षा ६ मा पढ्ने निशान खड्का सधैँ झै आइतबार पनि चार बजेपछि विद्यालयबाट फर्किए ।


ADVERTISEMENT


आमा चमेलीले गार्डेन चोकमा सञ्चालन गरेको चिया पसलमा खाजा खाए । ज्यामिरे–९ सिन्धुपाल्चोक घर भएकी चमेलीले सात वर्षदेखि यही क्षेत्रमा पसल चलाउँदै आएकी छिन् भने उनका श्रीमान् मलेसियामा मजदुरी गर्छन् ।


ADVERTISEMENT

# # #


विद्यालयबाट निशान आउँदा नियमित ग्राहक गोपाल तामाङ पसलमै थिए । चमेलीले मोबाइल पुरानो भएकाले नयाँ किन्ने प्रसंग निकालिन् । किन्न जान गोपाल तत्पर भए । चमेलीले १५ सय रुपैयाँ दिएपछि छोरा निशान र गोपाल नयाँ मोबाइल किन्न गए ।

फर्किएर गोपालले सिमसमेत फेरिदिए । एउटा बियर खाएर साढे सात बजे उनी पसलबाट बाहिरिए । तर, त्यतै खेल्दै गरेका निशान अबेरसम्म डेरामा आएनन् । अचानक पौने ९ बजे चमेलीको मोबाइलमा फोन आयो, ‘तिम्रो छोरा हाम्रो कब्जामा छ, ४० लाख रुपैयाँ तयार पार ।’ तत्कालै उनले गुहार मागिन् । छिमेकीहरू जम्मा भए । प्रहरीलाई खबर भयो । तर, रातभरिको प्रयासबीच पनि बालक भेटिएनन् ।

बालक निशान खड्काका अभिभावक मिहिनेती हुन् । सिन्धुपाल्चोक ज्यामिरेबाट काठमाडौं झरेर आमा चमेलीले सात वर्षदेखि चिया तथा खाजा पसल चलाएकी छिन् । बाबु मलेसियामा मजदुरी गर्छन् । मिहिनेती भए पनि आर्थिक रूपमा कमजोर नै देखिन्छ । किनकि, छोरा अपहरण हुनुभन्दा केही घन्टाअघि नयाँ मोबाइल किन्दा पनि उनले १५ सय मात्र खर्च गर्न सकेकी छिन् । यो यथार्थ अपहरणकारी भनिएका दुवैजनालाई पनि थाहा छ ।

किनकि, मोबाइल किन्न स्वयं गोपाल गएका थिए र उनीहरू दुवैजना चार वर्षदेखि पसलका नियमित ग्राहक थिए । तर, सबै अवस्था थाहा भएका आरोपीले बालककी आमासँग ४० लाख रुपैयाँ मागेको घटना आपैmैंमा आश्चर्यजनक छ । त्यसकारण पनि अपहरणको उद्देश्य पैसा मात्र नभएर अन्य प्रतिशोध पनि हुन सक्छ । घटनामा दुईजना मात्र नभएर पर्दापछाडि अरू पनि संलग्न हुन सक्छन् । तर, प्रहरीले आरोपी दुवैजनालाई कठघरामा उभ्याएर रहस्य उजागर गर्न होइन, पर्दा लगाउन हतार गरेको छ । – आजको नयाँ पत्रिकाबाट