काठमाडौँ– बाजुराको कोल्टीमा भएको विमान दुर्घटनामा परी निधन भएका महासेनानी (कर्नेल) कैलाश गुरुङप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गरिएको छ ।


ADVERTISEMENT


स्व गुरुङको शव अन्तिम श्रद्धाञ्जलिका लागि नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा आज बिहान ११ देखि दिउँसो २ बजेसम्म राखिएको थियो । विशिष्ट व्यक्तिदेखि सर्वसाधारणले प्रज्ञा भवन पुगेर गुरुङप्रति श्रद्धासुमन व्यक्त गरेका थिए । गुरुङप्रति श्रद्धाञ्जलि व्यक्त गर्न सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की ऊर्जामन्त्री जनार्दन शर्मा, स्वास्थ्यमन्त्री गगनकुमार थापा, श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङ, सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ प्रज्ञा भवन पुगेका थिए।


ADVERTISEMENT

# # #


यसैगरी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता केबी गुरुङलगायत नेता तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, नेताहरु सुवास नेम्वाङ, अग्नि खरेल, शेरधन राईलगायतले स्व गुरुङप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

त्यसैगरी सांस्कृतिक क्षेत्रका ख्यातिप्राप्त व्यक्ति, रचनाकार, गीतकार तथा शुभेच्छुक सर्वसाधारणले पनि गुरुङप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए । स्व गुरुङको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने उनको परिवारले जनाएको छ । भोजपुर छिनामखुमा जन्मिएका ४६ वर्षीय गुरुङको गत जेठ १६ गते बाजुराको कोल्टीमा आफैँले चलाएको नेपाली सेनाको विमान दुर्घटनामा परी निधन भएको थियो ।

नेपाली सेनामा २८ वर्ष सेवा गर्नुभएका गुरुङ नेपाली सेनाको विमान चालक थिए । उनी राष्ट्रभक्तिका गीत रचनाकार पनि हुन् । कल साइन एन ए ०४८ विमान कोल्टी विमानस्थलको धावनमार्ग नजिकै फाँटमा दुर्घटनाग्रस्त भएको थियो । उक्त घटनामा नेपाली सेनाका मेजर अनिता आले (सहचालक) र सुबेदार पूर्णबहादुर खड्का गम्भीर घाइते भएका थिए।