काभ्रे– गत साउन ७ गते बनेपामा मोटरसाइकललाई ठक्कर दिने टिपर जलाएको आरोपमा प्रहरीले ३ जनालाई मुद्दा चलाएको छ ।


ADVERTISEMENT


इलाका प्रहरी कार्यालय बनेपाले टिपरमा आगो लगाउने उद्धव बानियाँसहित ३ जनालाई मुलुकी ऐनको आगो लगाउने महल अनुसार मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


बनेपामा भाडाको डिलर सञ्चालन गर्दै आएका सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ३ बानियाँ काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनी टिपरमा आगो लगाएको भोलिपल्ट नै थाइल्याड पुगेका थिए । थाइल्यान्डबाट फर्किने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै घटनामा संलग्नको आरोपमा रामेछाप दोरम्बाका भीम श्रेष्ठ र काभ्रे भुम्लुका विदुर बुढाथोकीविरुद्ध पनि मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहले बताए । प्रहरीले उनीहरुमाथि अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद लिएको छ ।

यसअघि अदालतले अरनिको राजमार्गको सागामा टिपरमा आगो लगाउने एक व्यक्तिलाई २० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

साउन ७ गते बनेपामा टिपरले ठक्कर दिदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपरमा आगो लगाएका थिए । जुन भिडियो र सामाजिक सञ्जालमा धेरै नै भाइरलसमेत बनेको थियो ।