काठमाडौं– मुलुकी एेन संशोधन गर्न ल्याइएको देवानी कानुनले विवाहित महिलालाई माइतीको थर प्रयोग गर्न कानुनी अधिकार दिएको छ ।


ADVERTISEMENT


नयाँ ऐनअनुसार विवाहित महिलाले चाहे पति वा बुवाआमाले प्रयोग गरेको थर वा दुवै थर प्रयोग गर्न पाउने छन् । पतिको थर प्रयोग गरेर सम्बन्धबिच्छेद भए बुवाआमाको थर प्रयोग गर्न सक्ने व्यवस्था ऐनले गरेको छ ।


ADVERTISEMENT

# # #


नयाँ कानुन भदौ १ गते शुक्रबारदेखि लागू हुँदैछ । यो कानुनले विवाहसम्बन्धी नयाँ उमेर हद तोकेको छ । अबदेखि विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्नेछ । यसअिघ १८ वर्ष थियो ।

देवानी कानुनले विवाहसम्बन्धी अन्य प्रावधान पनि परिवर्तन गरेको छ । नयाँ कानुन लागू भएपछि कसैले पनि दोस्रो विवाह गर्न पाउने छैन । घरमा श्रीमती भएकै अवस्थामा श्रीमानले अर्की ल्याए त्यस्तो विवाह दर्ता हुने छैन । देवानी संहिताको दफा ७३ (ख) ले विवाह गरिसकेको अवस्थामा अर्को विवाह गरेमा बदर हुने व्यवस्था गरेको छ ।

पुनः विवाह गर्न वैवाहिक सम्बन्ध अन्त्य भएको, पति वा पत्नीको मृत्य वा कानुनबमोजिम अशंबन्डा हुनुपर्ने प्रावधान नयाँ ऐनमा छ । नयाँ ऐनले जारीसम्बन्धी मुलुकी ऐनको महल नै हटाएको छ । अर्काको श्रीमती जानी जानी विवाह गरे जारी तिर्नुपर्ने व्यवस्था थियो। अर्काकी श्रीमती भगाउने जार र भाग्ने जारी दुवैले दुई महिना जेल वा दुई हजारसम्म जरिवानाको प्रावधान थियो। भाग्ने जारीले धनमाल फिर्ता गर्नुपर्ने प्रावधान थियो ।

विवाहित व्यक्तिले नछुट्टिएसम्म अर्को विवाह गरे बदर हुने व्यवस्था राखिएपछि जारीसम्बन्धी महल हटाइएको हो । नयाँ ऐनले समलिङ्गी विवाह भने स्वीकृत गरेन । मस्यौदा क्रममा मान्छे र मान्छेबीच विवाह हुने प्रस्ताव अघि बढेको थियो । २०७३ मंसिरमा मान्छे र मान्छे हटाएर ‘महिला र पुरुषबीच विवाह हुने प्रावधान राखियो ।

देवानी कानुन निर्माणका लागि गठित संसदीय उपसमितिका सभापति राधेश्याम अधिकारीले समलिङ्गी विवाहका लागि छुट्टै विशेष कानुन निर्माण गर्न उचित हुने बताएका थिए । उपसमितिले देवानी कानुन निर्माण क्रममा ११ महिनामा १ सय ६८ घन्टा छलफल गरेको थियो ।

संसदीय समितिमा नेपाल र भारतबीच खुला सिमाना रहेकाले समलिङ्गी विवाह गरेर भारत जान सक्ने देखिएको भन्दै उक्त प्रावधान हटाइएको थियो । भारतमा समलिङ्गी विवाह प्रतिबन्ध छ ।

देवानी कानुनले कुनै विदेशी महिला र पुरुषले नेपालमा विवाह गर्न चाहे नेपाली कानुन पालना गर्नुपर्ने व्यवस्था गरेको छ। कुनै देशमा विवाह उमेर १८ त कुनै देशमा २२ हुने अवस्था भएकाले कुन कानुन पालना गर्ने भन्ने अन्यौल थियो । अब नेपालमा दर्ता गर्दा नेपाली कानुन पालना गर्नुपर्ने प्रावधान राखिएको हो ।

ऐनले नेपाली नागरिकले विदेशमा विवाह गर्दा भने नेपाली योग्यताअनुसार विवाह गर्नुपर्ने प्रावधान समेटेको छ ।