एजेन्सी– स्पेनिस क्लब रियल मड्रिडले यो सिजनको सुरूवात हारबाट गरेको छ । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिना युइएफए सुपर कप खेलेको रियल मड्रिड छिमेकी क्लब एथ्लेटिको मड्रिडसँग पराजित भयो ।


ADVERTISEMENT


बुधबार राति युरोपियन च्याम्पियन रियल मड्रिड युरोपा लिग च्याम्पियन एथ्लेटिको मड्रिडसँग ४–२ गोल अन्तरले पराजित भयो । निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।


ADVERTISEMENT

# # #


अतिरिक्त समयमा एथ्लेटिको मड्रिडका लागि कोके र साउलले उत्कृष्ट गोल गर्दै सिजनको पहिलो उपाधि हात पारे । त्यसअघि निर्धारित समयमा एथ्लेटिकोका लागि डिएगो कोस्टाले दुई गोल गरेका थिए भने रियल मड्रिडका लागि करिम बेन्जिमा र सर्जियो रामोसले समान एक–एक गोल गरेका थिए ।

खेलको पहिलो मिनेटमै कोस्टाले गोल गर्दै एथ्लेटिकोलाई सुरूवाति अग्रता दिलाएका थिए । तर २७ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई बराबरीमा फर्काए । पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा रियलले अग्रता लियो । खेलको ६३ औं मिनेटमा रामोसले गोल गर्दै खेललाई २–१ को स्थितिमा पुर्‍याए ।

उनले पेनाल्टीमा गोल गरेका थिए ।

यस्तै खेलको ७९ औं मिनेटमा कोस्टाले व्यक्तिगत दोस्रो गोल गरेपछि निर्धारित समयको खेल बराबरीमा सकियो ।

त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलको पहिलो हाफमै एथ्लेटिकोले २ गोल गर्‍यो । ९८ औं मिनेटमा साउलले गोल गर्दै खेलमा अग्रता दिलाए भने १०४ औं मिनेटमा कोकेले गोल गरेपछि एथ्लेटिकोले सुपर कपको उपाधि उचाल्यो ।

विगत ९ वर्षदेखि टिमका महत्वपूर्ण खेलाडी रोनाल्डो यही सिजन ११२ मिलियन युरोमा इटालियन क्लब युभेन्टस गए पछि बुधबार राति टिमले उनको अभाव महसुस गर्‍यो । जिदानको स्थानमा आएका रियल मड्रिडका नयाँ प्रशिक्षक जुलियन लोपेतेगीको पहिलो प्रतिस्पर्धात्मक खेल पनि हारबाट सुरूवात भयो ।

जिनेदिन जिदानले छोडेपछि लोपेतेगी रियलको जिम्मेवारी सम्हाल्न आएका थिए ।