काठमाडौँ– पाकिस्तानको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानले शनिबार सपथ ग्रहण गरेका छन् । मुलुकको सवै भन्दा ठूलो पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई)बाट प्रधानमन्त्रीको उम्मेदवार भई विजयी हुनु भएका खान पाकिस्तानको २२ औँ प्रधानमन्त्री बन्नु भएको हो ।


ADVERTISEMENT


प्रधानमन्त्री बन्नका लागि आवश्यक पर्ने १७२ मत मध्ये प्रतिनिधि सभामा शुक्रबार भएको निर्वाचनमा खानले १७६ मत पाएपछि उनलाई शनिबार सपथ ग्रहण गराइएको हो । खानका प्रतिश्पर्धी तथा पाकिस्तान मुस्लिम लिगबाट प्रधानमन्त्रीको उम्मेदवार बन्नु भएका शाहबाज शरिफले भने ९६ मत मात्रै प्राप्त गरेका थिए ।


ADVERTISEMENT

# # #


सपथग्रहण समारोहमा उच्च पदस्थ व्यक्ति, विदेशी पाहुनाहरुसँगै उनकी श्रीमती बुशरा मेनका समेत सहभागी भएको जनाइएको छ । खानले आफ्नो मन्त्रिपरिषद् १५ देखि २० सदस्यीय मात्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गत जुलाई २५ तारिखमा पाकिस्तानमा भएको आमनिर्वाचनबाट पूर्वक्रिकेटर खानको पार्टी तेहरिक–ए–इन्साफ (पिटीआइ)ले ११४ स्थानमा जित हासिल गरेर सवै भन्दा ठूलो पार्टी भएको छ ।

सरकार गठनका लागि आफुले मात्रै बहुमत प्राप्त नगरेकाले उनले गठबन्धन सरकार बनाउनु पर्ने भएको छ ।

विपक्षीहरुले अस्विकारेकाले विवादका बीच निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार, प्रमुख तीन दल तेहरिक–ए–इन्साफले ११४, पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लीगले ६३ र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थान जितेका छन् ।

सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी टिमको नेतृत्व गरेका विश्व चर्चित खान अहिले प्रधानमन्त्री बनेका हुन् ।

देशमा भ्रष्टाचारविरोधी अभियान चलाउँछुः इमरान खान
यसैबीच शुक्रबार पाकिस्तानको संसदद्धारा प्रधानमन्त्रीमा निर्वाचित र आज सपथ खानु भएका इमरान खानले देशमा भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्ने बताएका छन ।

उनले भने, मैले विगतदेखि नै पाकिस्तानमा व्याप्त भ्रष्टाचार विरोधी अभियान चलाएको हो र अब देशको नेतृत्व गरेपछि पनि मैले यसलाई थप गति दिनेछु ।

पाकिस्तानी संसदले शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेपछि उनले देशमा भ्रष्टाचार गर्ने र राष्ट्रको सम्पत्ति लुट्ने कुनै पनि मानिसलाई आफूले नछोड्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले पाकिस्तानमा आफूले परिवर्तन ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । पाकिस्तान नयाँ मुस्लिम राष्ट्रका रुपमा स्थापना भएदेखि नै पाकिस्तानी जनताले स्थायीत्व र सुशासनको लागि प्रतिक्षा गरेपछि गएका ७१ वर्षमा त्यो सम्भव नभएको भन्दै आफूले देशवासीको परिवर्तनको चाहनालाई पूरा गर्ने बताएका छन् ।

उनले आफू राजनीतिक परिवारको सदस्य नभएको स्पष्टगर्दै भन्नुभयो, न मैले र नत मेरा बुबा या परिवारका अरु कुनै सदस्यले राजनीति गरेका थिए तर मैले भने पाकिस्तानमा निरन्तर २२ वर्षदेखि राजनीतिमा सक्रिय भएर जनताको सामु केही बाचा गरेको छु ।

जनतासमक्ष गरेका यिनै बाचाहरुले नै आफूलाई पाकिस्तानी नागरिकले सत्तामा पुर्याएका हुन् भन्दै अब उनीहरुका लागि र देशका लागि पनि मैले केही गर्छु भनेर लागेको छु, उनले भने ।

पाकिस्तानमा अहिले भ्रष्टाचार व्यापक मात्रामा मौलाएको छ भन्दै यसका कारण जनतामा निराशा छाएको र देशको आर्थिक अवस्था पनि झन कमजोर हुदै गएकोले आफूले भ्रष्टाचार विरोधी अभियानमा लाग्ने निधो गरेको उनले बताएका छन् ।

आफ्नो यही बाचाका कारण नै पाकिस्तानी नागरिकले आफूलाई मत दिएर जिताएको र देशको प्रधानमन्त्रीको जिम्मेवारी पनि दिलाएको जानकारी दिएका छन् ।

राजनीतिक परिवारबाट नआएका पूर्व क्रिकेटर खानको नेतृत्वलाई पाकिस्तानमा नयाँ आशाका रुपमा लिइएको छ । रासस