काठमाडौं– २०७२ सालको भूकम्पका कारण तातोपानी नाका ठप्प भएपछि सञ्चालनमा ल्याइएको केरुङ–रसुवागढी नाका पनि पहिरोका कारण ठप्प छ । नेपाल–चीन व्यापारका लागि सञ्चालित एकमात्र नाका करिब एक महिनादेखि ठप्प हुँदा व्यापारी–व्यवसायी मारमा परेका छन् । पहिरोको कारण सडक अवरुद्ध भएसँगै स्थानीयको दैनिकी पनि जर्जर बनेको छ ।


ADVERTISEMENT


साउन ११ गतेको बाढीले रसुवागढी नाका नजिकैको घट्टेखोलाको पुल भासिएपछि रसुवागढी–काठमाडौं सडकखण्ड अवरुद्ध भएसँगै टिमुरे आसपासका नागरिकको दैनिकी प्रभावित भयो । सँगै रसुवागढी नाका हुँदै व्यापार,व्यावसाय गर्ने पनि मारमा परे । पुल भासिएपछि सडक डिभिजन कार्यालयले मर्मतका लागि ठेकेदार कम्पनीलाई जिम्मा दियो । तर, ठेकेदार कम्पनीको लापरबाहीका कारण काममा अतिढिलाई भइरहेको स्थानीयको आरोप छ ।


ADVERTISEMENT

# # #


पुल मर्मतमा ढिलाई भएका कारण समस्यामा परेको भन्दै रसुवागढी नाका हुँदै व्यापार गर्नेहरु स्थलगत निरीक्षणका लागि घट्टेखोला पुगेका थिए । पुलको स्थिति र मर्मतमा भइरहेको ढिलाईप्रति व्यापारीहरुको संगठन एकता व्यापार संघ नेपालले पनि आपत्ति जनाएको छ ।

रसुवागढी–काठमाडौं सडकखण्डको खोप्लाङ, टिमुरेलगायत थुप्रै स्थानमा पहिरो झरेको छ । कडा चट्टान काटेर बनाईएको सडक भासिँदा र सडकमै भीमकाय पहिरो खस्दा तत्काल मर्मत गर्न कठिन देखिएको छ । पहिरोका कारण तीज, दसैंललगायत पर्वलाई लक्षित गर्दै चीनबाट आयात गरिएका हजारौं कन्टेनर चीनतर्फ नै रोकिएका छन् ।

काठमाडौंदेखि १ सय ५२ किलोमिटर सडकमध्ये रसुवा सदरमुकाम धुन्चेदेखि रसुवागढीसम्मको ३३ किलोमिटर सडकखण्डको अवस्था नाजुक छ । व्यापारीले दबाव दिएपछि स्थानीय प्रशासनले नेपाली सेनाको सहयोगमा पहरो ‘ब्लास्ट’ गरेर सडक सञ्चालनको तयारी भइरहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी सीताराम थापाले जानकारी दिए ।

रसुवाको राम्चेमा पनि निरन्तर पहरो झरिरहेको छ । त्यस्तै, बाढीका कारण नुवाकोटको गाङ्ग्रेखोलाको पुल पनि भत्किएको छ । जसकारण तत्काल रसुवागढी–काठमाडौं सडकखण्ड सञ्चालनमा आउने छाँट छैन । यद्यपि, सम्पूर्ण सरकारी निकायले समन्वय गरी प्रयास गर्ने हो भने एक साताभित्र सडक सञ्चालन गर्न सकिने व्यवसायी बताउँछन् ।